काठमाडौं । पोखरामा बुधबार भएको यती एयरलाइन्सको विमान दुर्घटना नेपालमा पछिल्लो ६२ वर्षमा भएको ५५औं आन्तरिक हवाई विमान दुर्घटना हो ।
यसअघि गत जेठमा तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ मा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार ३ जनाको चालक दलसहित २२ जनाको मृत्यु भएको थियो ।
आइतबार पोखरामा भएको दुर्घटनामा विमानमा सवार सबै ७२ जनाकै मृत्यु भएको अनुमान गरिएको छ । हालसम्म दुर्घटनाग्रस्त विमानबाट निकालिएका ६८ जनालाई मृत घोषणा गरिएको छ ।
रिकभर हुन बाँकी ४ जना पनि जीवित नरहेको आशंका गरिएको छ । नेपालमा सन् १९६१ यता भएका आन्तरिक हवाई दुर्घटनामध्ये २२ वटा दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । सन् २००० मा नेपाल एयरलाइन्सको जहाज डडेल्धुराको जोगबुडामा दुर्घटना हुँदा त्यसमा सवार सबै २५ जनाको मृत्यु भएको थियो ।
नेपालमा भएका आन्तरिक हवाई दुर्घटनामा सम्भवतः यही सबैभन्दा बढीले ज्यान गुमाएको घटना हो । सन् २०१६ मा तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना हुँदा २३ जना र सन् २०१० मा तारा एयरकै विमान ओखलढुंगाको तीनतले डाँडामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।
यी दुवै दुर्घटनामा विमानमा सवार कोही पनि बाँचेका थिएनन् । सन् २०१२ मा सीता एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाले ज्यान गुमाएका थिए । सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेरीमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा रहेका सातै जनाको मृत्यु भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार २१ वटा आन्तरिक हवाई विमान दुर्घटनामा भने घाइतेमात्र भएका थिए ।
nepalpress