कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विमान दुर्घटना भएको स्थानबाट कसैलाई जीवित उद्धार गर्ने सम्भावना करीब सकिएको बताएका छन् । उनले अझैपनि उद्धार कार्य जारी रहेको तर कसैलाई पनि जिवित भेट्न नसकिएको रातोपाटीलाई जानकारी दिए ।
‘हालसम्म २०–२२ जनाको शव निकालिएको छ । आगलागी नियन्त्रणमा आएको छ तर तल विमान नदीको खोँचमा खसेका कारण उद्दारमा कठीनाइ भएको छ’, उनले भने, ‘ अवस्था भयावह छ । कसैलाई जिवित उद्धार गर्न सकिने सम्भावना देखिएको छैन । त्यै पनि हामी लागिपरेकै छौँ ।’
उनका अनुसार सेती नदीको निकै तल खोँचमा विमान खसेको छ । दुर्घटनाको खबर पाएसँगै द्रुतगतिमा उद्धार गरिएपनि अहिलेसम्म कसैलाई जीवित उद्धार गर्न नसकिएको केसीको भनाइ छ ।
घटनास्थलबाट केसीले भने, ‘कुनै पनि जिउँदो भएको जस्तो छैन । त्यै पनि जिउँदो निकाल्न सकिन्छ कि भनेर हामी लागिपरेका छौँ । अहिलेसम्म जीवितै वा घाइते अवस्थामा निकाल्न सकिएला कि भनेर लागेको तर सकिएन । सेती नदीको खोँच हो हामी यही आइपुगेका छौँ ।