पश्चिम नवलपरासीको एउटा कुखुरा फर्ममा अवैध रूपमा भण्डारण गरिएको झन्डै साढे आठ सय क्विन्टल चिनी बरामद गरिएको छ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ८ लोसहडास्थित पाल्ही एग्रो फर्मबाट आठ सय ४१ क्विन्टल चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
पाल्ही एग्रो फर्म स्थानीय धर्मेन्द्र यादवले संचालन गरेको कुखुरा फर्म हो। सुराकीको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको २६ नं. हेड क्वार्टर र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले फर्ममा भण्डारण गरिएको अवैध चिनी बरामद गरेपनि फर्म संचालक यादव भने फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार कुखुरा फर्मबाट ५० किलोग्राम तोलका १ हजार ६८३ बोरा चिनी बरामद गरिएको हो। उक्त चिनीको तौल ८४१ क्विण्टल रहेको चिनीको मूल्य करिब ६३ लाख ११ हजार रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।
कुखुरा फर्मभित्र करिब चार सय बोरा चिनी रहेको सुराकी पाएर गएको संयुक्त टोलीले फर्मबाट १६ सय बढी बोरामा चिनी लुकाएको अवस्थामा फेला पारेको हो। प्रहरीले चिनी बरामद गरेपनि ट्रक चालकहरूले नमानेपछि सशस्त्र र नेपाल प्रहरीकै पिकअप गाडीले शनिबार बिहानसम्म चिनी ढुवानी गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए।
उनका अनुसार ढुवानीका लागि ट्रक चालकहरूलाई बोलाए पनि चिनी तस्करहरूको धम्कीको कारण फिर्ता भएको बताए।
‘उनीहरूले ट्रक पठाए जे पनि हुने धम्की दिएपछि व्यवसायी ट्रक पठाउन डर मान्नु भयो, ट्रक नआएपछि हाम्रै पिकअप गाडीले शनिबार बिहानसम्म लगाएर जिल्ला प्रहरी कार्यालयमा चिनी ल्याइपुर्याएको हो,’ उनले भने।
चिनी बरामद भएको स्थान सदरमुकाम परासीदेखि करिब ५ किलोमिटरको दुरीमा छ। फर्मभित्र अवैध सामान फेला परेपछि त्यसका सञ्चालक पनि कानुनी दायरामा आउने र थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
यसअघिका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेल र सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्री हेडक्वार्टर तानिएलगत्तै जिल्लामा यती ठूलो परिमाणमा अवैध चिनी बरामद भएको हो। सीमा नाकाबाट हुने अवैध कारोबारलाई नियन्त्रण गर्न नसकेको भन्दै कँडेल र क्षेत्री हेडक्वाटर तानिएका थिए।
कँडेल र क्षेत्री हेडक्वार्टर तानिएपछि प्रहरीले सीमा नाकाका चौकी इन्चार्ज समेत परिवर्तन गरेको थियो। प्रहरी नायब उपरीक्षक पाण्डेयले सीमा नाकाका चौकी इन्चार्ज समेत परिवर्तन गरेलगत्तै अवैध रूपमा भित्र्याइएको चिनी बरामद भएको बताए।
तस्करमा संलग्न भएको आशंकामा मातहतका प्रहरीलाई तानेको केही दिनपछि फेरि ठूलो परिणाममा चिनी बरामद भएपछि सीमा क्षेत्रका चौकीमा पठाइएका नयाँ इन्चार्जमाथि पनि मिलमतोको आशंका उठेको बताइएको छ।
प्रहरी नायब उपरीक्षक पाण्डेयले त्यसबारे अनुसन्धान भइरहेको बताए। तस्करी बढेको आलोचनापछि प्रहरी प्रधान कार्यालयको टोली आफैले नवलपरासीका सीमावर्ती क्षेत्रमा अनुसन्धान गरेको थियो।
setopati