सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख चयन गर्न शनिबार बिहान साढे ११ बजेदेखि सर्वदलीय बैठक बसेकाे छ।
शुक्रबार बिहान ११ बजे सभामुख चयनका लागि प्रदेश सभाकाे बैठक बस्ने भनिए पनि स्थगित भएको थियाे।
कांग्रेसले सभामुखको निर्वाचन प्रक्रिया फेरि सुरू गर्नुपर्ने अडान लिएको छ। कांग्रेस र एकीकृत समाजवादीले माघ २ गतेसम्म बैठक स्थगित गर्नुपर्ने भनिरहेका छन्।
सत्तारूढ दलहरू भने अहिले नै सभामुखको निर्वाचन गरिनुपर्ने भनिरहेका छन्। याे विषयमा के हुने भन्ने विषयमा सर्वदलीय बैठकले निर्णय गर्नेछ।
निर्वाचनपछि चुनिएर आएका सांसदहरूले पुस १५ गते शपथ लिएपछि १८ गते सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो।
कानुन अनुसार नेपाली कांग्रेसबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षता बसेको सो बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गर्यो।
संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्छ।
त्यसैले माघको २ गतेभित्र सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचन गरिसक्नुपर्छ।
सत्ता पक्षले माओवादीका भीम भण्डारीलाई सभामुख बनाउन मनोनयन दर्ता गराएका थिए। उनले पुस २७ गते नै दर्ता गरेका थिए।
गत बिहीबार दिउँसो १ बजे सभामुखको निर्वाचन गर्न सभाको बैठक डाँकिएको थियो। तर त्यसअघि सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य रावलले पनि उम्मेदवारी दिए। उनले उम्मेदवारी दिएपछि अर्का जेष्ठ सदस्य कांग्रेसका शिवराज भट्टले सभा चलाएका थिए।
त्यसो हुँदा बैठक ढिला गरी चल्यो।
त्यही दिन मुख्यमन्त्रीको शपथ ग्रहण पनि तोकिएको थियो। बैठकमा प्रक्रिया पुरा गर्दा मुख्यमन्त्रीको शपथ ग्रहणको समय ४ बजेका लागि तोकिएको थियो।
शपथ ग्रहणका लागि केहिबेर प्रदेश सभाको बैठक स्थगित भयो र एक घण्टापछि बस्यो।
बैठकमा माओवादीका भण्डारी सुदूरपश्चिमको सभामुख हुन चाहिने बहुमत पुर्याएर प्रदेश सभाको बैठक बसेको थियो। तर सत्ता पक्षकै एक जनाको मत बदर भएपछि सभामुख चयन गर्न आवश्यक २७ मत पुगेन। यस दिन सत्ता पक्षका दुईजना सांसद पनि उपस्थित भएका थिएनन्।
setopati
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९