२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिँदै गर्दा संसदमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक भने, ‘कांग्रेस त आइसक्यो । अब अरुले किन आनाकानी गर्नु ?’
ओलीको बोलीमा प्रचण्डलाई मत माग्ने ध्येय त थियो नै । त्यसमा उनको आशंका पनि मिसिएको थियो । १५ दिनअघि विघटन भएको गठबन्धनको मूल दल कांग्रेसले विश्वासको मत दिने निर्णय गर्दा ओली अचम्मित थिए । कांग्रेसलाई कटाक्ष गर्दै ओलीले राप्रपासँग तुलना गरे, ‘राप्रपाले सरकारमा नजाने गरी समर्थन गरेको थियो । कांग्रेसले पनि त्यस्तै गर्यो ।’
पार्टीभित्रको ठूलो रस्साकस्सीबीच देउवाले विश्वासको मत दिने निर्णय गराएका थिए । कांग्रेसको निर्णय थियो–प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने र संघीय संसदमा प्रमुख विपक्षी दलको रुपमा भूमिका निर्वाह गर्नेछ । उक्त निर्णयलाई सभापति शेरबहादुर देउवाले लिखित मन्तव्यका क्रममा सुनाएका थिए ।
विश्वासको मत व्यक्त गर्ने र प्रतिपक्षमा बस्ने निर्णयलाई पार्टी नेताहरुले अनौठो रुपमा लिएका छन् । केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी निर्णयप्रति असन्तुष्टि जनाए । कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा केसीले भने, ‘यो कस्तो खालको निर्णय हो ? विश्वासमा मत दिने, प्रतिपक्ष पक्षमा बस्ने ?’
मंगलबार अपरान्ह कांग्रेसले लिएको निर्णयको आधार बनाउन संस्थापन पक्षले केही दिनदेखि नै सुरु गरेको थियो । सत्ताको राप तापबाट बाहिरिएपछि भाडाको घर धुम्बाराही पुगेसँगै देउवाले विश्वासको मतको दिने कार्यमा जग तयार गर्न लागेका थिए ।
देउवा पक्षीय नेताहरुका अनुसार सत्ता पक्षसँग निरन्तर संवादमा उप भापति पूर्णबहादुर खड्कालाई देउवाले खटाए । संस्थापनइतरका नेता शेखर कोइरालादेखि नेता कृष्ण सिटौलालाई साथ लिए । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसँगको भेटमा देउवाले उपसभापति खड्कासँगै नेता सिटौलालाई पनि राखे । देउवा पक्षका नेता भन्छन्, ‘गुम्न सबै गुमिसकेको हो । अहिले घुस्न सकियो भने कांग्रेस फेरि सत्तामा पुग्ने वातावरण त बन्छ नि ।’
देउवाले दुई पदाधिकारीसहित पाँच नेतालाई पार्टीको निर्णयमा एकवद्ध बनाउन सकेनन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समर्थन दिन नहुने पक्षमा अडिग रहे ।
विश्वासको मत दिनुपर्ने तर्कमा सहमत हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्मा नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले असहमति दर्ज गराएका छन् ।
विश्वासको मत दिएपछि प्रतिपक्षीय भूमिका कमजोर हुने फरक मत राख्नेहरुको तर्क छ । ‘सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको त्यो गहन भूमिका निर्वाह गर्न सक्दैन र त्यो नैतिक धरातल पनि रहँदैन ।’
पाँच नेताको असहमतिको बुँदामा भनिएको छ, ‘कांग्रेसले यो अवस्थाको सही विश्लेषण गरेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो । प्रधानमन्त्री प्रचण्डलाई मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न नमिल्ने जटिलता रहेको नेता प्रदीप पौडेल बताउँछन् ।
विपक्षी दल हुन संसदमा न्यूनतम १० प्रतिशत सांसद हुनुपर्दछ । १० प्रतिशत भन्दा बढी सांसद भएको दलमा कांग्रेस, एमाले र माओवादी केन्द्र मात्र छन् । एमाले र माओवादी केन्द्र सत्ता पक्ष भएकाले कांग्रेस स्वतः प्रमुख प्रतिपक्ष दलको हैसियत बनाएको थियो । विश्वासको मत दिएसँगै कांग्रेसले प्रमुख विपक्षी दल हुने हैसियत पनि गुमाएको तर्क उठेको छ ।
पूर्व राष्ट्रपति डा रामवरण यादवका कानुनी सल्लाहकार ललित बस्नेत संसद प्रतिपक्ष भएको जिकिर गर्छन् । ‘सिद्धान्ततः संसद प्रमुख प्रतिपक्षविहीन भएको छ । कांग्रेसको सैद्धान्तिक विचलन हुनु दुखद पक्ष हो’, बस्नेतले भने, ‘सत्ता निरंकुशतातिर जाने भयो ।’
विश्वासको मत दिनेमा देउवाले संस्थापन पक्षका सांसदलाई विश्वासमा लिन समस्या थिएन । संस्थापन पक्ष त उनी अनुकूल थियो नै । संस्थापन इतरका पनि धेरैजसो नेतालाई मनाउन देउवा सफल भए ।
सभापतिका निर्णय प्रक्रियालाई प्रश्न उठाउँदै आइरहेका नेता डा शेखर कोइरालालाई समेत विश्वासको पक्षमा ल्याउन देउवा सफल रहे । राष्ट्रपति पदका आकांक्षी रामचन्द्र पौडेल पनि देउवाकै लाइनमा आए । गठबन्धन टुटेपछि उनी देउवासँग रुष्ट थिए । कोइराला समूहबाट महामन्त्री थापा बाहेक सबैले विश्वासको मतको पक्षमा देखिए ।
कांग्रेसले विश्वासको मत दिनुको अन्तर्यमा केही विषय लुकेको विश्लेषण सुरु भएको छ । पहिलो, प्रचण्ड–ओलीको विग्रहले सत्तामा पुग्ने अभिलाषा कांग्रेसले राखेको छ । त्यसको साथै राष्ट्रपति र सभामुखमध्ये एक पदमा हिस्सेदारी पनि कांग्रेसले खोज्ने भित्रि चाह रहेको नेताहरु बताउँछन् । त्यसैको संकेत पाएर हुनसक्छ, ओलीले संसदमा कांग्रेसलाई कटाक्ष गरे ।
‘जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल’ कांग्रेसको रणनीति बुझेका ओली भन्छन्, ‘यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’
कुनै पद पाउने भएर विश्वासनको मत नदिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का दाबी गर्छन् । ‘हामीले कुनै पदका लागि विश्वासको मत दिएको होइन । सभापतिले संसदमा जे बोल्नुभयो । त्यसका लागि मत दिएको हो’, संसद भवन बाहिर खड्काले भने ।
राष्ट्रको विशिष्ट परिस्थिति बुझेर कांग्रेसले निर्णय लिएको उनले सुनाए । आर्थिक अवस्था, संविधानको रक्षा, स्थिरताका लागि मत दिएको खड्काले बताए । राष्ट्रिय जटिलता रहेर मत दिएको खड्काले बताएपनि फरक मत राख्ने नेताहरु त्यसलाई स्वीकार्न तयार छैनन् । ‘विशेष राष्ट्रिय परिस्थिति वा शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको समयमा जस्तो वृहत राष्ट्रिय सहमति आवश्यक भएको अवस्था पनि होइन’, महामन्त्री थापा भन्छन्, ‘न त अहिले सरकारलाई विश्वासको संकट नै परेको अवस्था छ ।’
मंगलबारको कांग्रेसको निर्णयले प्रचण्डलाई टाढा जान नदिने रणनीति पनि बनाएको छ । उक्त कुरालाई कांग्रेस नेता पौडेल स्वीकार्छन् । विश्वासको मत दिएर संसद बाहिर उनले पत्रकारसँग भने, ‘संविधानलाई बचाउन प्रचण्डलाई त्यति धेरै टाढा जान दिन्नौैं ।’ प्रचण्ड सरकारमा ओलीलाई हाबी हुन नदिनु र प्रचण्डलाई आफ्नो साथ रहेको देखाउँदै ओलीलाई साइजमा राख्ने खेलमा कांग्रेस लागेको छ ।
प्रमुख प्रतिपक्ष दल रहेकै बेला २०५१ सालमा कांग्रेसले एमालेका मनमोहन अधिकारीलाई समर्थन दिएको थियो । तत्कालीन समयलाई वर्तमानसँग तुलना गर्दै मत दिनु स्वभाविक हुने संस्थापन पक्षको तर्क छ । ‘प्रमुख प्रतिपक्षमा हुँदा २०५१ सालमा पनि हामीले विश्वासको मत दिएका थियौं । त्यतिबेला पनि प्रमुख प्रतिपक्ष बनेका हौं । प्रतिपक्ष विहिन संसद बनेको छैन ।’
खड्काले भने अनुुसार नै २०५१ सालसँग अहिलेको तुलना गर्न सक्ने अवस्था भने देखिँदैन । लिखित रुपमा कांग्रेसले राखेका विषयमा दुई दल वीच सहमति बनेको थियो ।
कांग्रेस नेतृत्वमा रहेको पूर्व सरकारले अघि सारेका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता एमालेले गरेपछि विश्वासको मत दिइएको थियो । कांग्रेसले यसपटक सार्वजनिक रुपमा कुनै शर्त प्रचण्डसामू राखेको छैन ।
onlinekhabar