डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले देशभरका स्थानीय तहका प्रमुखलाई परशुराम धाममा निमन्त्रणा गरेका छन् । मकर संक्रान्तिको अवसरमा माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई मेयर जोशीले निमन्त्रणा गरेका हुन् ।



मेयर जोशीका अनुसार मकर संक्रान्ति परशुराम नगरपालिका – ५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।

उनले सबै स्थानीय तहका प्रमुखलाई निमन्त्रणापत्र पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गरेका छन् । ‘यस पर्व मनाउन सहभागी भइदिनहुनुका साथै यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनहुन परशुराम नगरपालिकाकातर्फबाट हार्दिक निमन्त्रणा गर्दछु,’ पत्रमा लेखिएको छ । मेयर जोशीले नगरपालिका, स्थानीयवासी र सुरक्षाकर्मीहरुको सहयोगमा पर्व हुने स्थानको सरसफाइलगायतका कामहरु भइरहेका बताए ।

‘स्कन्द पुराणका अनुसार तीनै लोकमा अति नै पवित्र मानिएको धार्मिक स्थल परशुरामधाममा स्वागत गर्न तत्पर छु,’ मेयर जोशीले भने । नेपाल–भारतको सीमामा रहेको श्यामा (महाकाली) र ऐला (रंगुन) नदीको संगममा अवस्थित भृगुवंशी महर्षि जमदग्नी र रेणु पुत्रका भगवान परशुरामले तपस्या गरेको स्कन्द पुराणमा उल्लेख छ । स्कन्द पुराणका अनुसार परशुरामधाममा स्नानको ठूलो महत्व हुन्छ । महाकाली नदीमा स्नान गर्दा गंगा स्नानको समान पूण्य प्राप्त हुने पौरााणिक मान्यता रहेको र माघ स्नानको ठूलो महत्व छ ।
ratopati