बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं –७ स्थित मणिलेक मावि मेलौलीका छात्रछात्रा बेहोस हुन थालेका छन् । केही दिन पहिलादेखि छात्रछात्राहरुमा बेहोस हुने समस्या देखिएको विद्यालयका शिक्षक महादेव ओझाले बताए ।
गएको शुक्रबारदेखि विद्यालयका छात्रछात्राहरुमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमै समस्या भएको शिक्षक ओझाले बताए । मणिलेक माविमा पहिला पनि छात्राहरुमा यो समस्या देखिने गरेको उनले बताए । यो भन्दा पहिला छात्राहरुमा मात्रै यो समस्या देखिने गरेकोमा अहिले छात्रहरुमा समेत यो समस्या देखिन थालेको उनले बताए ।
आइतबार २० जना बढी छात्रछात्राहरुमा बेहोस हुने समस्या देखिएको शिक्षक ओझाले बताए । बेहोस भएका छात्रछात्राहरु रुने, कराउने र ढुंगा हान्ने जस्ता व्यवहार देखाउन थालेपछि आज विद्यालयको पठनपाठन अवरुद्ध भएको बताइएको छ ।
विद्यालयका छात्रछात्राहरुमा यो समस्या देखिएपछि पठनपाठनका लागि समेत समस्या भएको विद्यालयले जनाएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुमा यो समस्या देखा परेको शिक्षक ओझाले बताए । कतिपयले यो समस्यालाई धार्मिक आस्थासंग समेत जोडेका छन् । शिक्षक ओझाले भने ‘बेहोस भएका छात्रछात्राहरुले हाम्रो बाटो रोकियो त्यसैले विद्यालयले बनाएको पर्खाल भत्काउनुपर्ने भन्ने गरेका छन् । पहिला पनि यस्तो समस्या देखिएको थियो ।’
छात्रछात्राहरुमा मानसिक स्वास्थ्य समस्या देखिएकाले मनोसमाजिक परामर्श र विज्ञ चिकित्सक मार्फत उपचार गराउनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । छात्रछात्राहरुमा देखिएको यो समस्या मानसिक समस्या भएकाले यसको दीर्घकालिन समाधानका लागि मनोसामाजिक परामर्श सेवा दिनुपर्नेमा उनले जोड दिएका छन् ।
melaulinews