नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने खबर भ्रमपूर्ण भएको बताएका छन्।
शनिबार संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको बताए।
विभिन्न दलका नेताहरूलाई पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भेटेको स्वीकारेका छन्। यद्यपि उक्त भेट सामान्य भेट मात्रै भएको उनले बताए।
देउवाले जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्।
थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने कुरा निराधार भएको बताए।
‘अरू दलहरूका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो, कानूनले नै मिल्दैन,’ उनले भने।
यस्तै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि विश्वासको मत दिन नसकिने बताए।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९
setopati