बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहुप्रतीक्षित लिन्याक मेसिन आइपुगेको छ।
यो मेसिन शीघ्र सञ्चालनमा आउने अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले बताए।
क्यान्सर रोग विशेषज्ञ डा. भट्टराईका अनुसार लिन्याक मेसिन क्यान्सरको उपचारका लागि अत्यावश्यक मेसिन हो। यसले क्यान्सरको उपचारमा प्रयोग हुने रेडिएसन प्रदान गर्छ।
यो मेसिन सञ्चालनमा आएपछि पश्चिम नेपालका क्यान्सरका बिरामीले सेकाइका लागि चितवन, काठमाडौँ या भारत पुग्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले बताए। ‘यो मेसिन सञ्चालनमा आएपछि क्यान्सरका बिरामीहरूलाई अप्रेसनपछि गरिने सेकाइ, अप्रेसन नगर्दै गरिने सेकाइहरूलाई सहज हुनेछ। अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाइ यहींबाट हुनेछ,’ उनले भने।
नेपाल सरकारको अनुदान प्राप्त भएको र खरिद प्रक्रिया सुरु भएको लामो समयपछि धेरै प्राविधिक जटिलताका बीच स्वास्थ मन्त्रालयको सहयोगमा मेसिन खजुरा, बाँकेस्थित अस्पताल आइपुग्दा निकै खुसी लागेको डा. भट्टराईले बताए।
करिब दुई महिनाअघि डा. भट्टराई कार्यकारी निर्देशक भएर आएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले गति लिन थालेको छ। अस्पतालमा जटिल प्रकृतिका शल्यक्रियाहरू हुन थालेका छन्। अस्पतालमा अत्यावश्यक आइसियू बनिसकेकाले आउने दिनमा क्यान्सरका जटिल शल्यक्रिया गर्न र गम्भीर अवस्थाका क्यान्सर बिरामीलाई उपचार गर्न सहज भएको छ। अब क्यान्सर केन्द्रित सेवा मात्र प्रदान गर्ने गरी अगाडि बढ्ने योजना रहेको उनले बताए।
अस्पतालमा अब केही समयमै हस्पिस तथा प्यालिएटिभ केयरको सुविधा पनि अस्पतालको अलग भवनबाट सुरु हुनेछ। नेपालगन्ज धम्बोजी चोकबाट करिब १० किमिभित्र खजुरा गाउँपालिकामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मध्य तथा सुदूरपश्चिमको एक मात्र क्यान्सर अस्पताल हो।
संघीय अस्पताल भए तापनि स्थायी दरबन्दी स्वीकृत नभएकाले उक्त अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको र हाल ‘ओ एन्ड एम’ गरी स्थाई दरबन्दी सिर्जना गर्न अध्ययन तथा पहल प्राथमिकताका साथ भइरहेको डा. भट्टराईले जनाए। साथै क्यान्सरका बिरामीलाई अस्पतालसम्म आइपुग्ने सहज वातावरण बनाउन खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिकासँग समन्वय गरी क्यान्सर अस्पतालको गेटसम्म सार्वजनिक यातायातको व्यवस्था गर्न, थप एम्बुलेन्स र शववाहन को व्यवस्था गर्न, क्यान्सरका बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था गर्न र खजुरा गाउँपालिकाको सहयोगमा अस्पताल प्राङ्गणमा हाइमास्ट लाइटको व्यवस्था तथा विद्युत प्राधिकरणसँग डेडिकेटेड लाइनको व्यवस्था गर्नका लागि पहल भइसकेको छ।
पश्चिम नेपालमा क्यान्सरसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, साइन्टिफिक कन्फरेन्स तथा क्यान्सर स्क्रिनिङ शिविरहरू अहिले पनि अस्पतालले निरन्तर सञ्चालन गरिरहेको छ।
साथै मनोविद्सँगको सहकार्यमा क्यान्सरसँग लडिरहेकाहरूलाई उपचारसँगै मनोवैज्ञानिक परामर्शको व्यवस्था गर्ने र क्यान्सर सर्भाइभर सोसाइटी’ सँगको सहकार्यमा क्यान्सरसम्बन्धी विभिन्न हौसलायुक्त, जनचेतनामूलक कार्यक्रम गर्ने तयारीमा रहेको कार्यकारी निर्देशक डा. डा. भट्टराईले बताए।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९,
setopati