धनगढीः कैलालीको धनगढी र गोदावरी नगरपालिका क्षेत्रमा प्लास्टिक र टायर बालेर आगो ताप्ने क्रम बढेको छ। जाडो बढेसँगै सर्वसाधारणले जथाभावी प्लास्टिकजन्य फोहर जलाउने क्रम बढेको हो।
प्लास्टिक र गाडीका टायर जलाएर धनगढी र गोदावरी नगरपालिकाको अधिकांश ठाउँमा आगो ताप्न मान्छेहरू झुम्मिएका देख्न सकिन्छ। केही ठाउँमा दाउरा जलाएर आगो तापे पनि ग्यारेज तथा पसलहरूले भने प्लास्टिक र टायर बालेर आगो ताप्ने गरेका छन्। जनस्वास्थ्य र वातावरणका लागि प्लास्टिक र रबर जलाउनु घातक भए पनि नियमन र नियन्त्रण गर्न स्थानीय सरकारको ध्यान गएको छैन।
केही दिनदेखि सुदूरपश्चिमको तराई क्षेत्रमा जाडो बढेको छ। जाडो बढेसँगै मान्छेहरूले शरीर न्यानो राख्न एकाबिहानै आगो ताप्ने गरेका छन्। ग्रामीण क्षेत्रमा आगो ताप्न दाउराको उपलब्धता भए पनि सहरी क्षेत्रमा भने दाउराको विकल्पमा प्लास्टिकजन्य फोहर, गाडीका टायर र ट्युब जलाउने गरिएको छ।
मोहनापुल–अत्तरिया ६ लेन सडक क्षेत्रमा पर्ने ग्यारेज र पसलहरूले हरेक दिन प्लास्टिक, टायर र ट्युब जलाएर आगो ताप्ने गरेका छन्। आगो ताप्नेहरूले केही क्षण न्यानो अनुभव गरे पनि प्लास्टिक र रबर जलाउँदा निस्कने हानिकारक धुवाँले वातावरण र जनस्वास्थ्यमा समस्या ल्याउने वायु प्रदुषण विज्ञ भुपेन्द्र दासले बताए।
‘प्लास्टिकजन्य र रबरजन्य फोहर जलाउदा कार्बनमनोअक्साइड, ब्ल्याक कार्बन र अन्य धेरै किसिमका प्रदूषक हावामा मिसनन्छन्,’ उनले भने, ’जसको कारण मानिसलाई विभिन्न किसिमको क्यान्सर हुने, मुटु रोग लाग्ने, दम, आँखा तथा छालामा समस्या आउँछ।’
सामान्यतया दाउरा तथा कोइला बालेर आगो ताप्ने गर्नाले तत्काल जाडो कम हुने भए पनि स्वास्थ्यका लागि ठिक नहुने चिकित्सकले बताएका छन्। आगो ताप्न या अन्य प्रयोजनका लागि प्लास्टिक, टायर र ट्युब जलाउनै नहुने बताइएको छ। प्लास्टिक र टायर बाल्दा आउने धुँवाले वायु प्रदूषण अत्यधिक हुने र जनस्वास्थ्यमा विभिन्न खाले क्यान्सर र श्वासप्रश्वास सम्बन्धि समस्या हुने सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।
‘लामो समयसम्म धुवाँमा बस्दा श्वासप्रश्वासबाट धुवाँका कण फोक्सोमा पुग्छन्। जसले फोक्सोको क्यान्सर, दम गराउने, खोकी लाग्ने र निमोनिया हुने जोखिम हुन्छ,’ उनले भने, ’प्लास्टिकजन्य फोहर बाल्नु एकदम हानिकारक छ झन त्यहीँ आगो तापे छिटो स्वास्थ्यमा समस्या आउँछ भने वायु प्रदूषण पनि बढ्छ।’
कानुनअनुसार प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले प्लास्टिक प्रयोग तथा व्यवस्थापन मापदण्ड बनाई लागू गर्ने सक्ने व्यवस्था छ। तर, सुदूरपश्चिम प्रदेश सरकार र यहाँका स्थानीय तहले प्लास्टिक तथा रबरजन्य फोहर व्यवस्थापन गर्न सकेका छैनन्। जसका कारण जथाभावी प्लास्टिकजन्य फोहर फ्याक्ने र जलाउने क्रम रोकिएको छैन।
स्थानीय सरकारले प्लास्टिक तथा रबरजन्य वस्तु जलाउन नदिन प्रयाससम्म नगर्दा वायु प्रदूषण बढ्दो छ। प्लास्टिकजन्य फोहर जलाउन नदिन स्थानीय तहहरूले नै काम गर्नुपर्ने वायु प्रदूषण विज्ञ दासको भनाइ छ।
‘केन्द्र सरकार र प्रदेश सरकारले कानुन बनाएको छ,’ उनले भने, ’स्थानीय तहले मापदण्ड बनाएर, फिल्डमा खटिएर यस्ता कार्य रोक्न आदेश दिनुपर्छ।’
प्रदेशको अस्थायी राजधानी रहेको धनगढी र स्थायी राजधानी घोषित गोदावरी नगरपालिकामा प्लास्टिक र टायर बाल्ने क्रम अत्यधिक बढेको छ। ग्यारेज तथा पसल मालिकहरूले बिहान उज्यालो हुनासाथ वायु प्रदूषण बढाउन प्लास्टिक, टायर र ट्युब निर्वाध जलाउँदै आएका छन्। तर, नियन्त्रण गर्न धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको ध्यान नगएको गुनासो गरिएको छ।
Dineshkhabar