काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ध गर्ने बताएका छन् ।प्रतियोगिताका दौरान जिम्मेबार व्यक्ति भागेर भारत पुगेको र अनेक बहानाबाजी गरेकामा आक्रोशित देखिएका अध्यक्ष चन्दले बुधबार अनलाइनखबरसँगको कुराकानीमा सम्झौता खारेज गर्न कानूनी प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
‘हामीसँग बैंकिङ कारोबारका लागि भारत जान्छु भनेको हो, अब आउँदैन होला । भागेर गएपछि अनेक दोष लगाइरहेको सुनेको छु’, नेपाल टी–२० लिग सञ्चालन सम्झौताबारे उनले भने, ‘अर्को पक्ष भागिसकेपछि सम्झौता त रद्ध भइहाल्छ । नियतमै खोट रहेछ यसमा केही सोच्नुपर्दैन ।’
सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया सोमबार भारत गएका थिए । भारतबाट सुरक्षा चुनौतीका कारण नेपाल बस्न नसकेको भन्दै बहानाबाजी गरेको चन्दको आरोप छ । ‘उनले एम्बेसीमा पनि उजुरी गरेका रहेछन् । एम्बेसीले फोन गरेको थियो । तर, हामीले के भन्यौं भने उनको सुरक्षाको सम्पूर्ण जिम्मा हामीले लिन्थ्यौं । प्रहरीलाई खबर गर्न सक्थे । उनको यो सबै भाग्ने बहानाबाजी मात्र हो’ चन्दले भने ।
नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारणसभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको थियो । ८ वर्षका लागि व्यापारिक र रणनीतिक साझेदार बनेबापत उसले कुल ३३ करोड रुपैयाँ क्यानलाई बुझाउनुपर्ने थियो ।
पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा १ करोड २० लाख दिइसकेको अध्यक्ष चन्दले बताए । बाँकी रकम जसरी पनि ल्याइने उनको दावी छ । ‘हामीले अन्तिम नोटिस पठाएर त्यो कम्पनीविरुद्ध कानूनी कारबाही सुरु गर्नेछौं । उसका विरुद्धमा मुद्दा चल्छ । एम्बेसीमा उसका विरुद्धमा यसअघि नै उजुरी परेको छ । हामीले उसलाई आईसीसी, एसीसीमा कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्नेछौं’, चन्दले भने ।
फिक्सिङलाई बहाना बनाएर त्रिवि मैदानमा जारी नेपाल टी–२० लिग रोक्ने र १५ दिनपछि दुवईमा आयोजना गर्ने जतिनको प्रस्ताव आफूहरुले अस्वीकार गरेकोसमेत अध्यक्ष चन्दले बताए । ‘उसले भाग्नका लागि अनेक बहाना बनाउन लाग्यो ।
प्रतियोगितालाई बाहिरबाट आक्रमण हुन थालेको छ, स्पोर्टस काउन्सिल र मिडियाले पनि तनाव दिइरहेका छन् । प्रतियोगिता १५ दिन रोकेर दुबईमा लगेर खेलाऔं भनेको थियो’, चन्दले भने, ‘हामीले तत्कालै उसलाई झपारेका थियौं । सरकारले अनुमति दियो भने दोस्रो संस्करण दुबईमा लगौंला भनेका थियौं ।’
उनले जारी प्रतियोगिता जसरी पनि सम्पन्न गर्ने बताए । फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकका लागि तयार रहेको र प्रतियोगितामा क्यानको शुल्क बुझाउनुबाहेक सेभेन थ्री स्पोर्टसको भूमिका सकिएकाले प्रतियोगिता नरोकिने उनको दावी छ ।
onlinekhabar