काठमाडौं । ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरुसँग गठबन्धन गरेर संसदमा सबैभन्दा ठूलो शक्ति बनेको नेपाली कांग्रेसले सत्ताको दाबी गर्ने अवसर समेत पाएन ।
कांग्रेस नेतृत्वकै गठबन्धनमा रहेर तीनै तहको चुनावमा भाग लिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समीकरण बदल्दै प्रधानमन्त्री भए । अहिले सत्तारुढमध्ये सबैभन्दा ठूलो दल भएकाले एमाले अध्यक्ष केपी शर्मा ओली र उनको निवास बालकोट राष्ट्रिय राजनीतिको केन्द्र बनेको छ ।
तर कांग्रेसका सभापति शेरबहादुर देउवाले हातैमा रहेको सत्ता गुमाएको आरोप खेपिरहेका छन् । सत्ता बागडोरको नेतृत्व गुमाउनुपरेकाले कांग्रेस वृत्तमा निराशा, आक्रोश र आरोप–प्रत्यारोप चलिरहेको छ । यसमा देउवाको सजिलो जवाफ छ, ‘प्रचण्डले धोका दिए ।’
तर नयाँ सत्ता निर्माणको अन्तिम दुई दिनको घटनाक्रम, निर्णय र सहमति हेर्दा भने देउवालाई कसैले धोका दिएको थिएन, बरु उनले दोहोरो अवसर पाएका थिए ।
राष्ट्रपतिमा दाबी नै नगरेका प्रचण्डले दोस्रो कार्यकालको प्रधानमन्त्री बन्न देउवालाई प्रस्ताव गरेका थिए भने ओलीले देउवालाई प्रधानमन्त्री मान्ने वचन दिएका थिए । तर, सातौंपटक प्रधानमन्त्री हुने योग रहेको ज्योतिष प्रचारबाट प्रफुल्लित देउवाले ठूलो दलको जनादेश भएर पनि सत्ता गुमाए ।
यसको मूल कारण देउवामा रहेको अनिर्णय र अलमल देखिन्छ । पूर्वसहमति अनुसार, निर्णय नहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन दिएको एक साताको समय सकिने अन्तिम दिनसम्म पनि कांग्रेस–माओवादीसहितका दलको गठबन्धनमा कुरा मिल्न सकेको थिएन ।
९ पुसको दिउँसो ४ बजे पनि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । तर, देउवा र प्रचण्डमध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद टुंगिएन । बरु गठबन्धन टुट्ला, सहमति जुट्ने छाँट देखिएन ।
हरहालतमा प्रधानमन्त्री हुने पार्टी सभापति देउवाको चाहना बुझेका कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि त्यसदिन साँझ साढे ७ बजेतिर एमाले अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । नेताहरुका अनुसार, निधिलाई देउवाले खटाएका त होइनन्, तर ओलीलाई भेट्दैछन् भन्ने जानकारी चाहिँ उनलाई थियो ।
निधिले ‘गजबको स्टेटमेन्ट आएछ’ भन्ने ठट्टाबाट ओलीसँग सम्वाद थालेका थिए । त्यो दिन एमाले मुख्यालय, च्यासलमा आयोजित एउटा कार्यक्रममा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको टिप्पणी मात्र गरेका थिएनन्, मुलुक फेरि मध्यावधि चुनावतिर जान सक्ने विश्लेषण सुनाएका थिए ।
त्यसको पृष्ठभूमिमा निधिले कांग्रेस र एमाले मिलेर जान सम्भव छ भन्ने प्रश्न राखेका थिए । चुनावअघि नै कांग्रेस–एमाले मिलेर सरकार बनाउन सक्ने बताएका ओलीले तत्कालै ‘छ’ भन्ने जवाफ दिएका थिए ।
स्रोतका अनुसार, सरकारमा सहभागी हुँदा राष्ट्रपति लिने र प्रधानमन्त्रीमा आलोपालो गर्ने एमालेको चाहना थियो । कांग्रेसले अल्पमतको सरकार बनाउँदा फ्लोरबाट समर्थन गरेर राष्ट्रपति र सभामुख दुबै पद पाउनुपर्ने उनको शर्त थियो ।
उनले भनेका थिए, ‘अहिले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्छौं, दोस्रो चरणमा मलाई समर्थन गर्नुपर्छ ।’
निधिले फेरि सोधे, ‘सरकारलाई समर्थन मात्र गर्ने कि सहभागी पनि हुने ?’
जवाफमा ओलीले ‘प्रभावकारी टिम पठाउँछु’ भनेर सरकारमा सहभागी हुन चाहेको प्रष्ट पारे ।
नेताहरुका अनुसार, ओली र निधिबीच भएको त्यो भेटमा प्रधानमन्त्री बाहेक अरु पद बाँडफाँटबारे पनि छलफल भएको थियो । निधि निकट स्रोत भन्छ, ‘बाँकी विषय उठाउँदा ओली आफैंले यो (प्रधानमन्त्री नियुक्ति) भोलि गरौं, अरु बाँकी विषय पछि गरौंला’ भनेका थिए ।’ एमालेसम्वद्ध स्रोत भने निधिसँग भएको सम्वादमा शक्ति बाँडफाँट पहिल्यै टुंग्याउनुपर्ने ओलीको प्रष्ट अडान रहेको दाबी गर्छन् ।
यद्यपि, ओली र निधिबीच भेट भएको र पहिलो चरणमा देउवालाई प्रधानमन्त्री बनाउने ‘समझदारी’ भएको दुबै पक्षले स्वीकार गरेका छन् । स्रोतका अनुसार, ओलीसँग भएको सम्वाद निधिले तत्काल देउवासम्म पु¥याएका थिए ।
किनकी भोलिपल्ट १० गते बिहान १० बजे तत्कालीन सत्तारुढ गठबन्धनको निर्णायक बैठक बोलाइएको थियो ।
त्यो बैठकअघि नै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेललाई पनि देउवा कहाँ पठाएका थिए ।
पौडेलले पनि देउवालाई अध्यक्ष ओलीको प्रष्ट सन्देश सुनाएका थिए, ‘हाम्रो प्राथमिकता संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने हो । यदि कांग्रेस धारा ७६ (३) अनुसार सरकार बनाउन चाहन्छ भने पनि तयार छ । लेनदेन टुंग्याउनुपर्छ ।’
स्रोतका अनुसार, सरकारमा सहभागी हुँदा राष्ट्रपति लिने र प्रधानमन्त्रीमा आलोपालो गर्ने एमालेको चाहना थियो । कांग्रेसले अल्पमतको सरकार बनाउँदा फ्लोरबाट समर्थन गरेर राष्ट्रपति र सभामुख दुबै पद पाउनुपर्ने उनको शर्त थियो ।
देउवालाई भेटेलगत्तै पौडेलले निधिलाई फोन गरेर संविधानको धारा ७६(२) अनुसार सरकार गठनको तयारी गर्न आग्रहसमेत गरेका थिए । ‘७६ (३) अनुसार गर्दा हामी आफैं सरकारमा सहभागी हुन गाह्रो हुन्छ’ भन्ने पौडेलको सन्देश निधिले तत्काल पार्टी सभापति देउवासम्म पु¥याएका पनि थिए ।
बिहान १० बजे प्रचण्ड बालुवाटार पुगे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल पनि आए । देउवा, उनीहरुसँग सम्वादमा बसे । एमालेको समर्थन प्रधानमन्त्री बन्नेमा ढुक्क भएका देउवाले प्रचण्डलाई पहिलो पालो दिन नसक्ने बताए, राष्ट्रपति पनि कांग्रेसले पाउनुपर्ने अडान लिए ।
प्रचण्डले यो स्थितिमा गठबन्धन टुट्ने बताए । उनले बालुवाटारमै एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टै सम्वाद गरे । दुबै मिलेर एमाले अध्यक्ष ओलीसँग नयाँ शिराबाट सम्वाद थाल्ने वचन दिएर उनी बालुवाटारबाट निस्किए । त्यसपछि उनी आफ्नो निवास खुमलटार गए, पार्टीका नेताहरुसँग छोटो कुराकानी गरेर ओलीको निवास बालकोटतिर लागे ।
स्रोतका अनुसार, दिउँसो २ बजे प्रचण्ड आफ्नो निवास बालकोट आइपुग्दासम्म एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवासँग सम्पर्कमै थिए । देउवा निकटवर्तीहरुको दाबी छ, एमाले अध्यक्ष ओलीले ३ बजे बालुवाटार आउने र प्रधानमन्त्रीमा दाबी पेश गर्न देउवासँगै शीतल निवास जाने वचन दिएका थिए ।
तर, ओली बालुवाटार आएनन् । यसैलाई ओलीले धोका दिएको र हिजो (प्रतिनिधिसभा विघटनमा साथ नदिएको) बदला लिएको देउवाको बुझाइ छ ।
एमाले नेताहरु भने देउवालाई धोका दिएको मान्न तयार छैनन् । उनीहरुको दाबी छ, ‘प्रधानमन्त्री बनाउनुअघि पावर शेयरिङ टुंगो लगाउनुपर्ने आफूहरुको शर्तमा देउवा प्रवेश नै गरेनन् ।’
एमाले उच्च स्रोत भन्छ, ‘हाम्रो अध्यक्षले म आउँछु, तर के के गर्ने गरी आउने त ? भनेर सोध्नुभएको थियो । उहाँले विश्वासको मत लिन ३० दिन रहन्छ, त्यो अवधिमा टुंग्याउँला भन्नुभयो ।’
यही कारण देउवाप्रति ओलीलाई शंका लाग्यो । संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबीका लागि राष्ट्रपतिले दिएको समय ५ बजे कटाउने र ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुने खेलमा देउवा लागेको निष्कर्षमा पुगेपछि अध्यक्ष ओलीले प्रचण्ड रोजेको एमाले नेताहरु बताउँछन् ।
सरकार गठनका लागि एमाले नेताहरुसँग सम्वाद गरेका कांग्रेसका अर्का एक नेता पनि ओलीले धोका दिएको भन्न रुचाउँदैनन् । अन्तिम समयमा ओली र देउवाबीच भएको टेलिफोन सम्वाद थाहा नभएको भन्दै ती नेता भन्छन्, ‘पार्टी सभापतिले धोका भयो भन्नुभएको छ, मलाई चाहिँ अहिले पनि त्यो लाग्दैन ।’
उनका अनुसार, ‘गठबन्धन जोगाउन चाहँदा कि प्रचण्डलार्ई पहिलो पालोमा प्रधानमन्त्री बनाउन सहमत हुनुपथ्र्यो, नभए आफूलाई स्वीकार गर्न प्रचण्डलाई सहमत गराउनुपथ्र्यो । देउवाले न प्रचण्डलाई मनाउन सकेन, न आफू मान्न तयार भए ।’
त्यो बेलामा उनीसामू एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने विकल्प थियो । भित्रभित्रै एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच समेत सत्ता सहकार्यबारे गृहकार्य भइरहेकाले देउवाले यो विकल्प प्रयोग गर्न सक्थे । तर, उनले एमालेको शर्तलाई पनि सम्बोधन गर्न सकेनन् ।
‘पार्टी सभापतिले प्रचण्डको खुट्टामा जुत्ता हालेर हेर्ने प्रयास नै गर्नुभएन,’ कांग्रेसका एक केन्द्रीय नेता भन्छन्, ‘ओलीसँगको सम्वादमा पनि आफूलाई रुची लागेको (प्रधानमन्त्री बनाउन सघाउने) सुन्नुभयो, अरुलाई चासो दिनुभएन । अनि यस्तो परिणाम आयो ।’
By onlinekhabar