बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको एक बर्षदेखि धनगढीमा थन्किएको छ । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको गुनासो बढेको छ ।
पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्सले करीब एक बर्ष अगाडि धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एक बर्षदेखि धनगढीमा थन्किएको छ ।
गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुले भने सास्ती भोग्नुपरीरहेको स्थानीय जयबहादुर चन्दले बताए । उनले भने ‘आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजानका लागि एम्बुलेन्स नहुँदा समस्या भएको छ ।’
पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसंग हलुका सवारी साधनको मात्रै लाइसेन्स भएको र एम्बुलेन्स हेबी भएकाले हेबी सवारी साधनको लाइसेन्स भएको चालक राख्न पनि प्रहरीले भनेको छ ।
पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स एक बर्षदेखि धनगढीमा थन्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले स्वीकार गरे । एम्बुलेन्सले ठक्कर दिएको मोटरसाइकलको पाटपूर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको उनले बताए । उनले भने ‘ मोटरसाइकलको पाटपूर्जा नपाउँदा एम्बुलेन्स ल्याउन नसकिएको हो । अबको १० दिनभित्र एम्बुलेन्स ल्याउने तयारी भइरहेको छ ।’
एम्बुलेन्स जस्तो संवेदनशील साधन एक बर्षदेखि धनगढीमा थन्किँदा समेत चासो नदिएको भन्दै जनप्रतिनिधिहरुको आलोचना हुन थालेको छ । अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको भन्दै आलोचना भएको हो ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले पनि पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्सको व्यवस्थापन गर्न पटक पटक आग्रह गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
By sagun khabr
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९