खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले बिरोध गरेको छ ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताले सोमबार महानगरको निर्णय बिरूद्धमा बिरोध गरेका हुन्।
उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बागदरबार अगाडि बिरोध प्रदर्शन गरेका छन्। अभियन्ताले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै बिरोध गरेका हुन्। स्थानीयवासी र संरक्षण अभियान्ताले सोमबार बिरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरुको माग छ। खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरुले बताउँदै आएका छन्। बिरोध कार्यक्रममा बोल्दै अक्युपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए।
उनले जनतादेखि जनप्रतिनिधिहरु सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताए। उनले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावना विपरित काम गरिरहेको आरोपसमेत लगाए। उनले महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भए पनि मालिक नभएको बताए।
त्यस्तै अभियानको कार्यक्रममा सहभागी बनेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताए। उनले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनैपनि संरचना बनाउन दिनु नहुने बताए। उनले पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन सुझाव दिए।
‘काठमाडौंका जनताले अत्यधिक मत दिएर जिताएका अहिलेका काठमाडौंका मेयरसाबले टुँडिखेलमा पार्क बनाउने भनेर थाल्नुभएको छ। सांस्कृतिक ठाउँमा, काठमाडौंका आदिवासी, जनजाति जोडिएको ठाउँमा आज एकपछि अर्को अण्डरग्राउण्ड पार्किङजस्ता कुनै पनि संरचना बनाउन दिनु हुँदैन। संरचनालाई जोगाइरहनु पर्छ। खुलामञ्चलाई खुलामञ्चको रुपमा नै राख्नुपर्छ। पार्किङ नै चाहिएको भए भृकुटीमण्डपमा बनाउनुस् न, त्यहाँ घर बनाउन जनताले दिएको होइन,’ उनले भने।
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णय विवादित बनेको छ ।
जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताइन्।
सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएकी हुन्। उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन्। उनले धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको बताइन्। उनले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताइन्।
‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ । आवश्यकता हो कि होइन भन्ने बारेमा अध्ययन भइरहेको हो, डिपिआर, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ । धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन । जनताको चाहना विपरित कुनै पनि निर्माण काम हुनु हुँदैन । सर्वसाधारणको सुझाव बिना महानगरले कुनै काम गर्नेछैन,’ उनले भनिन्।
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो। अहिले महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ।
हेर्नुहोस् तस्बिरहरू (तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी)














By Setopati
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९