बैतडीका बजार क्षेत्रमा हर्न निषेध गरिएको छ । बढ्दो ध्वनी प्रदूषणलाइ कम गर्न जिल्लाका बजार क्षेत्रहरुमा सवारी हर्न बजाउन निषेध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवाला सहितको सर्वपक्षिय छलफलबाट बैतडी जिल्लाका बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार ध्वनी प्रदूषणमुक्त बनाउने उदेश्यले जिल्लाका सबै बजार क्षेत्रमा लागू हुने गरि यो निर्णय गरिएको छ । यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबैको सहयोगको खाँचो रहेको उनले बताए । बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउन सर्वपक्षिय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
बजार क्षेत्रहरुमा हर्न बजाउन नपाइने निर्णय गरिएको भन्दै उनले सबै सरोकारवालाहरुलाई कार्यान्वयनमा सहयोग गर्न अपिल गरेका छन् । ध्वनी प्रदूषण नियन्त्रण गर्नका लागि हर्न बजाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । यस्तै निर्णयको उल्लंघन भए कारबाही समेत गरिने बताइएको छ ।
कसैले नियमको पालना नगरेको पाइएमा तत्काल प्रहरीले कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बोहराले बताए । जथाभावी हर्न बजाएर गुड्ने गाडीलाई निणन्त्रणमा लिएर ट्राफिक प्रहरीले कारबाही गर्ने उनको भनाइ छ ।
पछिल्लो समय जिल्लाका बजार क्षेत्रमा सवारीसाधनको जथाभावी हर्नले ध्वनी प्रदूषण बढ्दै गएकाले यो निर्णयबाट कम हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९
By sagunkhabar