मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।
मधेसमा १०७ जना सांसद छन्। तीमध्ये आज १०६ जनाले शपथ लिन लागेका हुन्। शपथ कार्यक्रम प्रदेश सभा भवनमा हुनेछ।
शुक्रबार दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम छ। ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका सांसद गोविन्द न्यौपानेले शपथ खुवाउने कार्यक्रम छ। उनी ७१ वर्षका भए।
मधेसमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादी केन्द्रका ९, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र नागरिक उन्मुक्ति पार्टीका १ तथा स्वतन्त्र ५ जना सांसदलाई शपथ गराउने कार्यक्रम छ।
प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार ३८ जना सांसदले मातृभाषामा शपथ लिनेछन्।
प्रदेश सभाका निमित्त सचिव रंजित यादवका अनुसार लोसपाका अभिराम शर्मा, उपेन्द्र महतो, रानीकुमारी तिवारी, रमिता प्रधान र रुपाकुमारी यादव, कांग्रेसका कृष्णकुमार यादव, कौशल किशोर राय, जंगीलाल राय, नागेन्द्र साह, वीरेन्द्रकुमार सिंह, सकुन्ती देवी महरा, जसपाका शोभा देवी र संजयकुमार यादवसहित १३ जनाले बज्जिका भाषामा शपथ लिने छन्।
मैथिली भाषामा जसपाका रामअशिष यादव र राजकुमार गुप्ता, मनिषकुमार सुमन, किरणकुमारी साह र ममता देवी मण्डल, नेकपा एमालेका रामचन्द्र मण्डल, कांग्रेसका रामसरोज यादव, शेषनारायण यादव, कुमरकान्त झा र जीवछीकुमारी यादवसहित १० जनाले शपथ लिने भएका छन्।
माओवादी केन्द्रका भरतप्रसाद साह र जसपाका सरोजकुमार सिंहले मगही भाषामा शपथ लिने छन्।
भोजपुरीमा जसपाका शाहिदा खातुन, बच्चा राउत अहिर, शेख अबुकलाम अजाद, सरोज कुमार यादव र सिंगासन सा कलवार, लोसपाका रमेशप्रसाद कुर्मी, नेकपा माओवादी केन्द्रका शारदा पहाडीगरि ७ जनाले शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।
एमालेका राजकुमार लेखी, राजेन्द्र प्रसाद चौधरी र देवनारायण थारुले थारु भषामा शपथ लिने संसद सचिवालयले जनाएको छ। लोसपाका जितेन्द्र सोनल र स्वतन्त्र सांसद सुरिता कुमारी साहले हिन्दी भाषामा शपथ लिने सचिव यादवले बताए।
नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमले उर्दु भाषामा शपथ लिने सचिव यादवले बताए।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९