![Resham Chaudhary's candidacy to be invalid - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles](https://myrepublica.nagariknetwork.com/uploads/media/reshamchaudharyfinal_20190923071404.jpg)
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागार बोलाएका छन् ।
चौधरीले सोमबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/11/250x250-ridhi-sidhi-cement-1.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/250x2502.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/12/250X250.gif)
आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो ।
उक्त छलफलपछि सरकारमा सहभागी हुन सहमति दिएको उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको छ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/250X2502.gif)
पार्टीका प्रवक्ता दामोदर पण्डितले संघीय सरकार र प्रदेश सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल गर्न आफूहरू डिल्लीबजार कारागार गइरहेको पुष्टि गरेका छन् । ‘हाम्रो पार्टीको संस्थापक एवंम् अभिभावक उहाँ (रेशम चौधरी) ले कारागार बोलाउनुभएको छ । हामी छलफलका लागि जादैछौँ । उहाँको निर्देशनअनुसार सरकारमा सहभागी हुने विषयमा अघि बढ्छौं,’ पण्डितले भने, ‘अहिलेकै समीकरणमा संघ र प्रदेशमा कसरी जाने भन्ने कुरा दिउँसोसम्म थाहा हुन्छ ।’
रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीहरुको रिहाइको मुद्दालाई प्रमुख एजेन्डा बनाएको उन्मुक्ति पार्टीले पहिलेदेखि सरकारसँग मुख्य तीन माग राख्दै आएको छ ।
रेशम चौधरीलगायतका बन्दीको रिहाइ, झुठा मुद्दा खारेज तथा टीकापुर घटनापछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागहरु राख्दै आएको हो ।
नयाँ समीकरणमा पनि यिनै मागलाई उन्मुक्ति पार्टीले अघि सारेको छ । उक्त पार्टीले प्रतिनिधि सभामा ३ सिट जितेको छ । सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकसहित ७ सांसद र लुम्बिनी प्रदेशमा चार जना सांसदको प्रतिनिधित्व छ ।
By onlinekhabar