काठमाण्डौ – नेपाल टी–२० क्रिकेट लिगको आज आइतवारको दोस्रो खेलमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरालाई पाँच विकेटले हरायो । पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि सन्दीप जोराले नटआउट ४० र सागर पुनले ३८ रन बनाए । पोखराका लागि अफगानिस्तानका जहिर खानले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा १९ ओभर ४ बलमा एक सय ३८ रन बनाउँदा अलआउट भयो । पोखराका लागि आसिफ शेखले ५०, सिद्धान्त लोहनीले २९ र प्रतिश जिसीले २८ रन बनाए । जनकपुरका लागि वेस्ट इन्डिजका केसरिक विलियम्सले तीन विकेट लिए ।
यो जितसँगै जनकपुर एक खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । छ टोली सहभागी प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । डबल राउन्डमा भइरहेको लिगमा ३४ खेल हुनेछ ।
melaulinews