बैतडीको गोइडाखोलामा ६ वर्ष सम्म पुल बन्न सकेको छैन् । पाटन –पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका वडा नं ६ स्थित गोइडाखोलामा पुल निर्माण कार्य शुरु भएको ६ बर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नभएको हो ।
गोइडाखोलामा २०७४ सालदेखि पुल निर्माण कार्य शुरु गरिएको थियो । सडक डिभिजन कार्यालय मार्फत निर्माण भइरहेको सो पुल निर्माणका लागि रफिना कन्सट्रक्सनले ठेक्का पाएको थियो । २ करोड ३८ लाख ७९ हजार ६६ रुपैँया लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको सो पुल ६ बर्ष सम्म समेत पूरा नहुँदा नागरिकलाई सास्ती भएको छ ।
पाटन – सडकको महत्वपूर्ण पुलको रुपमा रहेको सो पुलको निर्माण कार्य ६ बर्ष सम्म ५६ प्रतिशत मात्रै भएको छ । गोइडाखोला पुल निर्माणका लागि ठेक्का भएको रकम मध्ये १ करोड ३४ लाख १६ हजार ५ रुपैंया भुक्तानी भइसकेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका लेखापाल कृष्ण भण्डारीले बताए ।
२ बर्षभित्र निर्माण गरिसक्ने लक्ष्यका साथ शुरु भएको पुल समयमै नबन्दा समस्या भएको सवारी चालकहरुले समेत बताएका छन् । गोइडाखोलामा समयमै पुल नबन्दा बर्षातको समयमा सवारी साधन सञ्चालनमा निकै समस्या हुने गरेको चालक उत्तरसिंह ऐरीले बताए । उनले भने ‘पुल निर्माण शुरु भएको धेरै बर्ष भइसक्यो तर समयमै पुल नबन्दा हामीलाई बर्षातको समयमा सवारी साधन सञ्चालनमा धेरै समस्या भएको छ ।’
पुल निर्माणका लागि सडक डिभिजन कार्यालयले तीन पटकसम्म म्याद थपिसक्दा समेत सो पुल निर्माण कार्यले पूर्णता नपाउँदा स्थानीयहरु आक्रोशित भएका छन् । सार्वजनिक विकास निर्माणका कामहरु समयमा नहुँदा धेरै समस्या हुने गरेको स्थानीय मोहनराज पन्तले बताए । उनले भने ‘गोइडाखोलामा समयमा पुल नबन्दा साह्रै समस्या भएको छ । ६ बर्ष सम्म दुई पिल्लरमात्रै बनाइएको छ । पुल निर्माण सम्पन्न कहिले हुन्छ थाहा नै छैन् ।’
पुल निर्माण अहिलेसम्म सम्पन्न नहुुनुमा निर्माण कम्पनी ,सडक डिभिजनको कमजोरी रहेको स्थानीयको आरोप छ । मोटरेबल पुल निर्माण ढिलाइमा ठेकेदार र सडक डिभिजनको कमजोरी रहेको स्थानीय पन्तले बताए ।
यता निर्माणको जिम्मा पाएको रफिना कन्सट्रक्सनका प्रतिनिधि मदनमोहन बिष्टले जग्गाको मुआब्जा विवादका कारण पुल निर्माणको काम अघि बढ्न नसकेको बताए । उनले भने ‘हामीले पुल निर्माणका लागि केही जमीन काट्नुपर्ने र त्यो बेला नहर पनि भत्कन सक्छ । स्थानीयहरुले मुआब्जा नदिँदा सम्म जमीन उपलब्ध नगराउने भनेपछि समस्या भएको छ ।’
सडक डिभिजन कार्यालय पाटन बैतडीका सब–इन्जिनियर मुकेशविक्रम मल्लले पुल निर्माणका लागि आफूहरुले ताकेता गरिरहेको दाबी गरे । उनले भने ‘त्यो ठाउँमा जग्गाको मुआब्जा सम्बन्धि विवाद पनि रहेको छ । निर्माण सामग्रीको भाउ बढ्दा पनि निर्माण व्यवसायीले काम अघि बढाएन् ।’
पुल निर्माणका बिषयमा अझै पनि अन्यौलता छाएको छ । काम कसरी अगाडि बढाउने भन्ने बिषयमा सडक डिभिजन कार्यालयले केही योजना बनाएको पाइदैन् । निर्माण कम्पनीले काम नगरेमा सरकारी नियम अनुसार अगाडि बढ्ने सव–इन्जिनियर मल्लको दाबी छ । तर कसरी अगाडि बढ्ने भन्ने बिषयमा उनले ठोस कुरा भन्न सकेनन् ।
सार्वजनिक निर्माणका कामहरुमा ढिलासुस्ती नागरिकलाई समस्या भइरहेको छ ।अधिकांश सार्वजनिक निर्माणका कामहरुमा ढिलो गरी सम्पन्न हुने रोग जस्तै भइसकेको नागरिकहरुले बताएका छन् ।
By Sagunkhabr
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९