
नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।
कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेता विमलेन्द्र निधि लगायतका सांसदहरूले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए।
शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले सांसदहरूको भेला आयोजना गरेका थिए।
त्यस कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेपनि कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए।
‘प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इच्छा व्यक्त गर्नु भएको छ। त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन। प्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनुहुन्छ उहाँ। नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ। त्यसलाई हामी सम्मान नै गर्छौं तर अहिलेको अवस्थामा नेपाली कांग्रेसको नेतृत्व चाँही स्वभाविक ठर्हछ,’ उनले भने।
यस विषयमा औपचारिक रूपमा छलफल भइनसकेको पनि उनले बताए।
अबको केही दिनमा संसदीय दलको चुनाव हुने उनले जानकारी दिए।
यता विमलेन्द्र निधीले पनि प्रधानमन्त्री देउवा नै बन्नेमा ढुक्क रहेको बताए।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९,