करिब ४ वर्षअघि ललितपुरको झम्सिखेलबाट सुरु भएको चिकेन स्टेसनले छोटो समयमै व्यावसायिक उडान समात्न सफल बनेको छ । नेपाली बजारमा केएफसीको रजगज देखेपछि सुरु भएको स्टेसनले यति बेला आफ्नो उपस्थिति देशभर पुर्याइसकेको छ भने विदेशी बजारमा समेत आफूलाई उपस्थिति गराउने योजना बुनिरहेको छ ।

चिकेन स्टेसनमा सयौँले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा समेत हजारौँ मानिसहरू जोडिएका छन् । महँगो मूल्य तिरेर चिकेन आइटम खाइरहेका नेपालीहरूलाई सस्तो दाममै चिकेन आइटम दिने लक्ष्य राखेको चिकेन स्टेसनले सञ्चालनमा आएयता पछाडि फर्कनु परेको छैन । ‘चिकेन पारखीहरूले सस्तो मूल्यमै क्रन्ची चिकेन, चिकेन बल्स लगायतका चिकेन आइटमको स्वाद चाख्न दिने हाम्रो लक्ष्य दिनदिनै मजबुत भइरहेको छ,’ कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर अजेश ताम्राकार बताउँछन् ।


झम्सिखेलबाट सुरु भएको यात्रा
अजेश ताम्राकार र निकेश ताम्राकार मिलेर ४ वर्षअघि झम्सिखेलमा चिकेन स्टेसनको पहिलो रेस्टुरेन्ट स्थापना गरेका थिए । झम्सिखेलमा १२० सिट क्षमताको चिकेन स्टेसन खुलेयता भने संस्थापकहरूले पछाडि फर्केर हेर्नुपरेको छैन ।