बैतडीको पुर्चौंडी नगरपालिकामा फोहर व्यवस्थापनका लागि उपयुक्त ठाउँ नहुँदा व्यापारीहरुले नदीमै फोहर फाल्ने गरेका छन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्न नसक्दा व्यापारीहरुले नदीमै फोहर फाल्न थालेका हुन् ।
नगरपालिकाले डम्पिङ साइडको व्यवस्था गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ । नगरपालिकामा गएको ५ बर्षमै डम्पिङ साइड निर्माण गरिसक्ने लक्ष्य रहेको थियो । तर डम्पिङ साइड निर्माणका लागि उपयुक्त जमीन नपाउँदा समस्या भएको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले जानकारी दिए ।
नगरपालिकाले फोहर व्यवस्थापनका लागि अस्थायी व्यवस्थापन गरेको भएपनि त्यो पार्याप्त नभएको अध्यक्ष गडालले बताए । व्यापारीहरुले पनि सबै प्रकारका फोहर एकै ठाउँमा राख्ने भएकाले फोहर व्यवस्थापनमा समस्या भएको उनले बताए । उनले भने ‘फोहर व्यवस्थापनका लागि नगरपालिकाले ठाउँको खोजी गरिरहेको छ । तर अहिले सम्म उपयुक्त ठाउँ नपाउँदा समस्या भएको छ ।’
डम्पिङ साइड नहुँदा बजारबाट निस्कने फोहर नदीमै फाल्ने गरिएको र यसले नदी फोहर हुँदै गएको स्थानीयहरुले बताएका छन् । जमाडी नदीमा फोहर फाल्ने गरिएको स्थानीयहरुले बताएका छन् ।
नगरपालिकाको केन्द्र समेत हाटमा मानिसहरुको आवतजावत बढेकाले फोहर पनि बढ्दै गएको छ । स्थानीय बसन्तपुर र खडीखेत बजारको फोहर व्यवस्थापनमा चुनौती देखिएको छ । बस्ती नजिक डम्पिङ साइड निर्माण गर्न नसकिने र त्यसका लागि टाढा ठाउँ खोज्नुपर्ने बाध्यता रहेको वडा अध्यक्ष गडालले बताए । फोहर व्यवस्थापनका लागि पालिकाले पहल गरिरहेको उनले दाबी गरे ।