काठमाडौँ–बैतडीको सिगास गाउँपालिका १ गोलेधार नजिकैको ठूलाखोलामा मंसिर महिनामै काफल पाकेको छ । ठूलाखोलाको चारैतिर तुषारो परिरहेका बेला गुफा नजिकै रहेको काफल भने पाकेको स्थानीय सिद्धराज भट्टले बताए ।
काफलको रुखमुनि गुफा रहेको र त्यो गुफामा रहेका शिलाहरुमा भगवान गणेशको आकृति रहेकाले यो अद्भुत दृश्य देखिएको उनले बताए । यसलाई दैवीय शक्तिको रुपमा स्थानीयहरुले लिएका छन् । ठूलाखोलाको आसपासमा अन्य काफलका रुखहरु भएपनि गुफा र मूर्ती नजिकैको काफलको रुखमा भने दाना पाकेका स्थानीयहरुको भनाइ छ ।
पहिलादेखि नै सो ठाउँमा पूजाआजा हुने भएकाले दैवीय शक्तिले काफल पाकेको स्थानीयहरुको दाबी छ । धेरै पहिला दोगडाकेदारबाट बसाइसराइ गरेका नागरिकहरुले त्यो ठाउँमा भूमीराज देवताको स्थापना गरेकाले पूजाआजा हुँदै आएको स्थानीय दिक विकले बताए । सो ठाउँमा रहेको काफलको रुख कहिले पनि रित्तो नहुने उनको दाबी छ । उनले भने ‘अन्य ठाउँमा चिसोले रुखहरुका पात नै झर्न थालेका छन् । तर ठूलाखोलाको गुफा नजिकको रुखमा भने काफल पाकेका छन् ।’
सिगास गाउँपालिका वडा नं १ को कार्यालयबाट ४ किलोमिटर दुरीमा रहेको खरक्यौडा बजार नजिकैको गोलेधारबाट ठूलाखोलामा रहेको गुफा देख्न सकिने स्थानीय रामचन्द्र भट्टले बताए । सो ठाउँमा रहेको गुफा कति ठूलो छ भन्ने कुराको अनुसन्धान हुन नसकेको उनले बताए । ठूलाखोलामा अद्भूत प्राकृतिक र दैवीय शक्ति रहेकाले यसको प्रचारप्रसार र संरक्षणमा स्थानीय सरकारको ध्यान जानुपर्ने त्यहाँका नागरिकको माग रहेको छ ।