प्रतिनिधि सभातर्फ समानुपातिकका लागि दलहरूले पठाएको सांसदहरूको सूची सच्याउनु नपर्ने भएको छ।
दलहरूले यसअघि बन्द सूचीमा समावेश गरेका नामहरू नै समावेशी सिद्धान्तअनुसार मिलाएर पठाएको पाइएको निर्वाचन आयोगले जनाएको छ।
नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ जना सांसदको सूची बुझाएका थिए।
तर प्रदेश सभा समानुपातिकतर्फ भने दलहरूले पठाएका सूचीमा त्रुटि देखिएको छ। ती त्रुटि सच्याउन आयोगले आइतबार नै दलहरूलाई पत्राचार गरिसकेको छ। दलहरूले आजसम्म त्रुटि सच्याउन पाउनेछन्।
विशेष गरी प्रदेश नम्बर १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलहरूले बुझाएका सूचीमा त्रुटि देखिएका छन्। क्लस्टरअनुसार सूची नबुझाएको पाइएको छ।
आयोगका समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेका अनुसार दलहरूले त्रुटि सच्याएर पठाएपछि सांसदहरू निर्वाचित भएको घोषणा गरिनेछ र प्रमाण पत्र दिइनेछ।
सम्भवत सोमबार नै प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ निर्वाचित भएको घोषणा गरिने उनले बताएका छन्। साथै आयोगले एक साताभित्र निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९