बैतडीको दुर्गम पालिका भनेर चिनिएको सिगास गाउँपालिका सडक सञ्जालमा जोडिन थालेको छ । संघीयता आउनुभन्दा पहिला सडकबाट विमुख रहेको सिगास गाउँपालिका पछिल्ला ५ बर्षमा सडक सञ्जालमा जोडिन थालेको हो ।
दुदिलाखानदेखि गाँजरी बाहेक अन्य ठाउँमा सडकको पहुँच नभएको सिगासमा अहिले सबै वडा र गाउँपालिका केन्द्रमा सडक पुर्याउने काम भइरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । दोश्रो कार्यकालका लागि समेत निर्वाचित भएका धामीले पहिलो कार्यकालमा सडक विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
विभिन्न वडाबाट सडकको ट्रयाक खोलिएका र ती सडकहरुलाई गाउँपालिकाको केन्द्र गर्जे सम्म जोड्नका लागि पहल भइरहेको अध्यक्ष धामीले बताए । उनले भने ‘हामीले पहिलो कार्यकालमा सडक विस्तारलाई प्राथमिकतामा राखेर काम गर्यौं । अहिले पनि गाउँपालिका केन्द्र र वडा केन्द्रमा जोड््ने सडकलाई प्राथमिकतामा राखेका छौं ।’
श्रीभावरदेखि दोगाड हुँदै पटौटी पुगेको सडकलाई अहिले गाउँपालिकाको केन्द्र सम्म जोड्ने प्रयास भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले बताए । गाउँपालिकाको वडा नं ९ र ८ हुँदै गाउँपालिका जोड्ने यो सडक निर्माण कार्य भइरहेको ओझाले बताए । यस्तै साउनखेत–गर्जे सडक पनि गाउँपालिकाको केन्द्र जोड्नका लागि काम भइरहेको ओझाले बताए । यो सडकले वडा नं ३ र ४ का जनताको पालिकाको केन्द्र सम्म पहुँच पुर्याउने बताइएको छ । यी दुवै सडकका लागि १ करोड ३० लाख बजेट विनियोजन भएको छ ।
यस्तै गाउँपालिकाको केन्द्र गर्जेदेखि वडा नं ६ को कार्यालय र लेकदेखि वडा नं ७ को कार्यालय जोड्ने सडक समेत निर्माण भइरहेको अध्यक्ष धामीले बताए । यी दुवै सडकका लागि ९५ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाको वडा नं ५ ढुंगाड हुँदै एउटा सडक गाउँपालिकाको केन्द्रमा जोडिसकिएको छ भने गाँजरीदेखि कुर्चेनेटा सम्म पनि सडक निर्माण भइसकेको छ ।
विकासका अन्य पूर्वाधारका लागि पनि सडक निर्माण अतिआवश्यक भएकाले पालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको अध्यक्ष धामीले बताए । उनले भने ‘पहिलो कार्यकालको मुख्य उपलब्धिको रुपमा मैले सडक निर्माणलाई लिएको छु ।’
सिगास गाउँपालिकाका सबै वडामा सडक निर्माण भएपछि गाउँपालिकाको केन्द्र सम्म जान सहज हुन थालेको सिगास गाउँपालिका ९ की कविता ऐरले बताइन् । सडक निर्माण भएपछि धेरै कुरामा सहज भएको उनले सुनाइन् । उनले भनिन् ‘अहिले गाउँमा सडक पुगेपछि निकै सहज भएको छ । खाद्यान्न वस्तुहरु बजारबाट बोकेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’
सिगासमा निर्माण गरिएका सडकहरुलाई स्तरोन्नती गर्नका लागि संघीय सरकार र प्रदेश सरकारले चासो दिनुपर्ने सिगास गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष कृष्णसिंह धामीले बताए । उनले भने ‘पालिकाले हरेक वडामा सडक खोली सकेको छ । अब यी सडकलाई स्तरोन्नती गर्नका लागि संघ र प्रदेश सरकारले ध्यान दिनुपर्दछ ।’
गाउँमा सडक पुगेपछि सिगासका स्थानीयबासिन्दा पनि खुसी भएका छन् । सडक पुगेसंगै ग्रामीण क्षेत्रको जीवन सहज भएको स्थानीय प्रतापसिंह बोहराले बताए ।
By sagunkhabar
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९