काठमाडौँ ः बैतडीमा विद्युत विस्तारमा ढिलाई भइरहेको छ । निर्माण व्यावसायीको लापरवाही र प्राधिरणको उदासिनताका कारण विद्युत विस्तारमा ढिलाई भइरहेको हो ।
बैतडीमा विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय र प्रदेश कार्यालयले हेर्दै आएका ठुला विद्युतीय निर्माणका कामहरु सुस्त छन् । जिल्लाको पाटन र मेलौलीमा बन्ने भेनिएका सबस्टेसनको काममा ढिलाई भइरहेको छ । सबस्टेसनसम्म गाडिएका पोल ढलेका छन् भने तानिएका तारहरु चुडिएका छन् । विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाका अनुसार निर्माण सुरु गरेको २ वर्ष भन्दा बढी भइसक्दा पनि काम सम्पन्न नभएकाले माघ महिनामा फेरी ठेक्काको म्याद थप्ने तयारी भइरहेको छ ।
पाटन र मेलौलीको सबस्टेसनको ठेक्का अर।के।इन्टरनेस्नलले पाएको हो । सबस्टेसनसम्मको लाइन विस्तार र साखा लाईन विस्तारको काम सम्पन्न गर्ने ठेक्का भएको भएपनि सबस्टेसनको समेत काम सम्पन्न भएको छैन ।
जिल्लामा बन्ने भनिएका सबस्टेसन निर्माण र लाईन विस्तारमा ढिलासुस्ती भइरहेको मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्दले बताए । जिल्लाको सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पनि सबस्टेसनको लागि भर्खरैमात्र ठेक्का भएको छ । मेलौली, पाटन, सुर्नया र दोगडोकदारमा सबस्टेसनको काम सकिएपछि मात्रै विद्युत वितरणमा सहज हुने नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए ।
१० पालिका रहेको बैतडीमा दशरथचन्द नगरपालिकाको सबै वडा र पाटन नगरपालिकामा झण्डै ८० प्रतिशत क्षेत्रमा विद्युत पुगेको छ भने अन्य ८ पालिकाका अधिकांस घरधुरी विद्युतीकरणको पहुँचभन्दा बाहिर रहेका छन् । जिल्लाको सिगास, शिवनाथ, पञ्चेश्वर गाउँपालिका तथा पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकामा विद्युतीकरण अझै पुग्न सकेको छैन । दोगडोकेदार, सुर्नया र डिलासैनी गाउँपालिकामा पनि आधा घरधुरीमा राष्ट्रिय प्रशारण लाईनको विद्युत पुगेको विद्युत प्राधिकरण बैतडीका प्रमुख भट्टले बताए । ‘सबस्टेसनको काम धमाधम भएको अवस्थामा अबको दुई वर्षमा विद्युतीकरणमा सहज हुन्छ,’ भट्टले भने ।
विद्युतीकरण नहुदा यहाका स्थानीयहरुले समस्या भोग्दै आएका छन् । बिद्युत अभावमै सञ्चार सेवाबाट बञ्चित हुनुपरेको पुर्चौडी ५ का स्थानीय लक्ष्मण बोहराले बताए । विद्युत अभावमा सोलारको भरमा बस्नु परेको सिगासका स्थानीय नरेन्द्र साउँदले बताए ।
विद्युतीकरणको अभावमा गाउँपालिकाबाट प्रदान गरिने सवा प्रवाहमा समेत असहज भइरहेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष सकुन्तला सउँदले जानकारी दिइन् । ‘पालिकामा पनि सोलारबाटै सेवा दिइरहेका छौँ, बादल लागेको बेला काम अबरुद्ध हुन्छ, यहाका स्थानीयहरुले पनि सास्ती खेप्दै आएका छन् ।’ उनले भनिन् ।
५०,४७२ घरधुरी रहेको बैतडीमा १९,१९२ घरधुरीमा मात्रै विद्युत पुगेको विद्युत प्राधिकरण बैतडीले जनाएको छ । यो कुल परिवार संख्याको ३८ प्रतिशत मात्रै हो।
विद्युतीकरणको काममा सम्बन्धित निकायको तदारुकता नदेखाएका कारणले पनि विद्युतीकरणमा ढिलाई हुने गरेको पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले बताइन् । मेलौलीमा बन्न लागेको सबस्टेसनको काम सम्पन्न भएपछि मेलौली नगरपालिका, शिवनाथ रपञ्चेश्वर गाउँपालिकाका लागि विद्युतीकरणमा सहज हुने उनले बताइन् । ‘मेलौलीको सबस्टेसनको काम पनि समयमा भएको छैन, उक्त सबस्टेसन बन्यो भने, धेरै सहज हुन्छ, निर्माणका लागि ठेक्का आहवान गरेपछि निगरानी पनि राख्नुपर्छ, ठेकेदारको लापरवाहीले गर्दा विद्युतीकरणको काम अघि बढ्न सकस भइरहेको छ,’ उनले भनिन् ।
विद्युतीकरणकै अभावमा बैतडीमा नेपाल टलिकमले समेत प्रभावकारी सेवा दिन सकिरहेको छैन । अधिकांस नेपाल टेलिकमका टावरहरु सोलारको माध्यमबाट चल्ने भएकाले नियमित सञ्चालनमा आउन नसकेको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख विक्रम टमाटाले बताए ।