बैतडी। नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य तथा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले पार्टीको पछिल्लो प्रकरणमा आफ्नो धारणा सार्बजनिक गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भनाई सार्बजनिक गर्दै एमाले बैतडीका केहीँ नेताहरुलाई चुनौतीसहित प्रश्न पनि गरेका छन्।
चन्दले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा अन्तरघात गरेको भन्दै एमालेले निष्काशन गरेको जानकारी मिडियामार्फत आफूले पाएको बताए।
‘खासगरि बैतडी (ख) बाट उम्मेदवार भएका लिलाधर भट्ट मेरै कारण हारेको भन्ने आरोप लगाएको रहेछ, जबकि मेरो पञ्चेश्वर गाउँपालिकाबाट दुबै उम्मेदवार (दामोदर भण्डारी पनि) लाई बहुमत भोटहरु गएको कुरा निर्वाचन आयोगले प्रमाणित गरेको छ,’ उनले भने।
लडेर चोटपटक लागेपछि २÷४ दिन अस्पताल आएको र फेरि फर्केर निर्वाचन प्रचारमा खटिएका स्मरण गराउदै चन्दले गत पुषमा पाटनमा भएको एमाले जिल्ला अधिवेशनमा अध्यक्षका लागि चासो राखेकाले त्यसै बेलादेखि आफूलाई ‘साइड’ लगाउन खोजेको संकेत गरेका छन्।
‘स्थानीय निर्वाचनमा मेरो दोहोरिने मन थिएन्, जबर्जस्ती टिकट दिइयो, फेरि त्यहीँ लिलाधर भट्टले हाम्रै पार्टीका राजेन्द्र चन्दलाई बागी उम्मेदवार बनाएर पठाए। यसका बाबजुद पञ्चेश्वरका जनताले अत्याधिक मतले मलाईं विजय गराए,’ उनले भने।
सुदूरपश्चिममा धेरै उम्मेदवार हारेको, जनताले मत नदिँदा त्यसो भएको र अब कसलाई कारबाही गर्ने भन्दै अध्यक्ष चन्दले प्रश्न गरेका छन्, ‘अब को जिम्मेवार हुने?’
निर्वाचनमा जित, हार निरन्तर चलिरहने प्रकृया भएको र जनताले आफूलाई मन लागेको उम्मेदवार र पार्टीलाई भोट हाल्ने र छान्ने नैसर्गिक अधिकार पाएको उनले स्मरण गराए।
यो अधिकार भन्दा माथि ‘लिलाधर एण्ड कम्पनी’ नरहेको भनाई पनि उनको छ।
‘लोकतान्त्रिक प्रणालीमा जित, हारलाई सामान्य रुपले लिनु पर्छ। यसैपाली पनि हाम्रा ठूलाठूला नेताहरु हारेका छन्। उनीहरुले कसलाई कारबाही गर्ने? जनतालाई?,’ चन्दको प्रश्न छ।
उनले कारबाही गरिएको हो भने त्यो व्यक्तिगत आफूलाई मात्र नगरिएको र स्वराडका लाखौँ, लाख जनतामाथिको कारबाही भएको अर्थमा बुझिने भन्दै चेतावनी दिएका छन्।
त्यसको प्रति उत्तर यहाँका जनताले दिने र त्यसका लागि केही समय पर्खिन चन्दले सुझाएका छन्।
‘पार्टी २/४ जनाको पेवा होइन्, हजारौँ, हजार मान्छेले दुःख, कष्ट, जेलनेल गरी यहाँसम्म आइपुगेको हो,’ अध्यक्ष चन्दले भने, ‘जनआन्दोलनका बेला अहिलेका कम्पनीवाला कता जागिर गर्दै हुनुहुन्थ्यो? त्यसपछि विदेशी एनजीओ ल्याएर समराइ होटलमा मात्रै कति करोडको गोष्ठी गर्नु भएको छ?’
आफ्नो लडाइँ पार्टीसँग नभएको पनि उनले स्पष्ट पारेका छन्। तर बैतडीको पार्टीलाई कम्पनी बनाएर चलाएको भन्दै चन्दले रोष प्रकट गरेका छन्। उनले यसबारे आफ्नो लडाइँ जारी रहने उदघोष समेत गरेका छन्।
चन्दले पार्टीमा रहदा वा नरहदा स्वराडका जनतामाथि गरेको अन्याय, अत्याचार ज्यादती र विभेदकाविरुद्ध चाडैँ ठूलै आन्दोलनको आधिहुरी आउने पनि बताए।
‘लिलाधर कमरेड बाँकी आजसम्म तपाईंले गरेका एक, एक कुकृतहरुको बारेमा जानकार छु, समयले ती सबै कुरा खुल्दै जाने छन् र पक्कै पनि जनताले तपाईंलाई दण्डित गर्ने नै छन्,’ चन्दले भनेका छन्।
भट्ट बैतडीको प्रदेशसभा (ख) बाट कांग्रेसका शिवराज भट्टसँग पराजित भएका थिए।
एमाले बैतडीले चुनावमा अन्र्तघात भएको भन्दै जिल्ला सचिव चक्र कार्कीको संयोजकत्वमा छानविन समति गठन गरेको थियो।
पञ्चेश्वर गाउँ कमिटीले प्रदेश कमिटी सदस्य चन्दले चुनावमा असहयोग गरेको निर्णय जिल्ला कमिटीलाई पठाएकाले सोही निर्णय कार्यान्वनयका लागि प्रदेश कमिटीमा पठाएको संयोजक कार्कीले बताएका थिए। प्रदेश कमिटीले भने यसबारे कुनै निर्णय लिइसकेको छैन्।