बैतडी- नेकपा एमाले बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ । आज बसेको सातौँ जिल्ला कमिटि बैठकले अध्यक्ष चन्दलाई कारवाहीका लागि सिफारिस गरेको हो ।
मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटिको बुधबार बसेको बैठकले पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटिलाई सिफारिस गरेको एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले जानकारी दिए । पालले चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरिएको बताए ।
एमालेका प्रदेश कमिटि सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटिलाई आग्रह गरिएको उनले बताए । नेकपा एमालेले आम निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही गर्न समिति पनि गठन गरेको छ । आज बसेको सातौँ जिल्ला कमिटि बैठकले मंसिर ४ मा भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्ताहरुलाई कारवाही गर्न छानबिन समिति गठन गरेको हो ।
छानविनका लागि जिल्ला कमिटी सचिव चक्र कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा जिल्ला सचिवालय सदस्य नरेश पाण्डे ‘निर्मल’ र सिगास गाउँपालिका ईन्चार्ज योगेन्द्र अवस्थी रहेका छन्। गठित समितिले एक महिनाभित्र छानबिन गरि अर्काे बैठकमा आवश्यक कारवाहीका लागि सिफारिस गर्ने जनाइएको छ ।