आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम तयारीमा राजनीतिक दल र उम्मेदवारहरू लागेका छन् । मतदाताको घरदैलोमा पुगेर उम्मेदवारहरू भोट मागिरहेका छन् ।नेपाली कांग्रेसका नेता डा. सशांक कोइराला नवलपरासीपूर्व १ बाट उम्मेदवार बनेका छन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनदेखि सो क्षेत्रबाट चुनाव लड्दै आएका डा. कोइराला अहिले चौथो पटक चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीको दाबी पनि गरिरहेका डा. कोइरालासँग उनकै निर्वाचन क्षेत्रमा गएर गठबन्धनको मत ट्रान्सफर हुने नहुने अवस्था, उनको चुनावी एजेन्डा, यसपछिको सरकार, उनले गरेका विकास जस्ता विषयमा केन्द्रित भएर रातोपाटीका लागि शिव सत्याल र सुवास श्रेष्ठले कुराकानी गरेका छन् –
–चुनावका लागि भोट माग्दै घरदैलो गरिरहनु भएको छ, कुन कुन ठाउँमा पुगिसक्नुभयो
म अहिलेसम्म नै मेरो निर्वाचन क्षेत्रका धेरै ठाउँमा पुगिसकेको छु । धेरै ठाउँमा त घरदैलो पनि गरेको छु । धेरै ठाउँमा घरदैलो गर्न सकिँदैन । धेरै मान्छे बसेको ठाउँमा कोणसभाहरू गरेका छौँ, त्यहीँ मान्छेहरूलाई बोलाएर आफ्नो कुरा भनेका छौँ ।
–तपाईंहरूप्रति जनताका अपेक्षा केकस्ता रहेछन् ?
जनताका अपेक्षा अत्यन्तै धेरै छन् । जनतालाई के लागेको छ भने डा. सशांक कोइराला यो क्षेत्रबाट चौथो पटक चुनाव लड्दै हुनुहुन्छ । यहाँको वस्तुस्थितिका बारेमा उहाँलाई धेरै थाहा छ । त्यसैकारण पनि उनीहरूको अपेक्षा धेरै छ । उनीहरू युगान्तकारी परिवर्तन गर्न खोजिरहेका छन् । मैले ठूला ठूला परियोजना ल्याउने प्रयास पनि गर्दैछु । जस्तो कि यो ८ सय किलोमिटरको दूरीको राजमार्गमा कहीँ पनि ट्रमा सेन्टर छैन । ट्रमा सेन्टर भयो भने चोटपटक लागेकोमा तुरुन्त उपचार पाउँछन् । यस्तै यो क्षेत्रमा रङ्गलशाला पनि बनाउने सोच बनाएको छु ।
–यो क्षेत्रमा रोजगारी सिर्जनाका लागि तपाईंका केकस्ता कार्यक्रम छन् ?
यस्ता विषयमा मैले धेरै प्रयास गर्दैछु । यहाँका मुख्य दुईवटा समस्या हुन् । एउटा समस्या सुकुम्बासीको हो, अर्काे रोजगारी नहुनु हो । युवालाई रोजगारी दिनैपर्छ । रोजगारी दिने अर्काे तरिका भनेको स्वरोजगार बनाउने हो । यसका लागि मैले विभिन्न चरणमा सोचेको छु ।
हाम्रो आधार भनेको अहिलेका लागि कृषि नै हो । कोभिडका कारण पर्यटन समाप्त नै भएको छ । आन्तरिक पर्यटन मात्रै भएको छ । अब यसले धान्दैन । कोभिड सकिएपछि विस्तारै विदेशी पर्यटक आउने हो । मैले बढी फोकस कृषिमा गरेको छु । खाडी देशमा गएर ३ वर्षमा ५÷७ लाख ल्याउनु भन्दा पनि यहीँ काम गरेर, देशको सेवा पनि गरेर त्यही समयमा ३० लाख जति कमाउन सक्छन् । कृषिका पोल्ट्री, फिसरी, गाई पालन, बाख्रा पालन, खेती जस्ता काम गर्न सकिन्छ ।
खेती गर्नका लागि युरिया मलको अभाव छ । म के भन्छु भने हामी युरियामा धेरै निर्भर हुनु हुँदैन । हाम्रै जैविक मलहरू गोबर, भुस, झारपातको प्रयोग गरेर कृषि उत्पादन बढाउन चाहन्छौँ ।
–यो क्षेत्रको विकासका लागि तपाईंसँग अरू के कस्ता योजना छन् ?
मैले तपाईंलाई पहिला पनि भनेको छु, एउटा त ट्रमा सेन्टर बनाउने र नारायणीको तटैतटबाट त्रिवेणीसँग वैकल्पिक हाइवे बनाउने योजना छ । यो वैकल्पिक राजमार्गलाई देवघाटदेखि त्रिवेणीसम्म पुर्याउने सोच बनाएको छु । त्यो हाइवेले अन्य फाइदा पनि हुन्छ । जस्तो कि वर्षाको समयमा बस्ती वा खेतीबारीमा पानी आउन रोकिन्छ । जङ्गली जनावरले खेतीबाली नष्ट गरिदिने समस्या पनि समाधान हुन्छ । त्यो क्षेत्रमा बोटिङ, फिसिङ, मनोरञ्जनजस्ता व्यवसाय सञ्चालन गर्न सक्ने सम्भावना पनि हुन्छ । मेरा साथीहरूले पनि यो क्षेत्रमा व्यवसाय गर्नका लागि जग्गा पाइन्छ कि पाइँदैन भनेर सोधिरहेका छन् । मैले प्रशस्त जग्गा छ, यहाँ आएर तारे होटलहरू बनाउनुस् भनेको छु । एकजना साथीले त पाँचतारे होटल बनाउनका लागि मसँग कुरा गर्दै थिए । मैले यो क्षेत्रमा क्यासिनो बनाउने बारे सोचेको छु । त्यसैले यो क्षेत्रमा धेरै सम्भावना छ ।
–तपाईं यो क्षेत्रबाट तीन पटक निर्वाचित भइसक्नुभयो भने चौथो पटक निर्वाचन लड्दै हुनुहुन्छ । यो क्षेत्रका जनताले तपाईंलाई प्रधानमन्त्री बन्ने नेताका रूपमा अपेक्षा गरेका थिए, अहिलेसम्म प्रधानमन्त्री बन्नुभएको छैन, अब सम्भावना कत्तिको छ ?
एकदमै सम्भावना छ । राजनीति गर्दाखेरि ठाउँमा पुग्नुपर्यो । म प्रधानमन्त्री भएँ भने नीतिहरू कार्यान्वयन गर्न सक्छु । जस्तो कि हामीले कृषिमा ध्यान केन्द्रिकृत नै गरेका छैनौँ । हामीसँग १७ लाख हेक्टर खेतीयोग्य जमिन छ । यति जमिनले ३ करोड जनतालाई होइन, ३० करोड जनतालाई खुवाउन सक्छ । तर अहिले पनि हामी कृषियोग्य वस्तुको आयात गरिरहेका छौँ । चामल, दाल जस्ता सबै वस्तु आयात हुन्छ । हाम्रो व्यापार घाटा अर्बाैंमा छ । त्यो घाटा न्यूनीकरण गर्नुपर्यो । हाम्रो आधार कृषि नै हो जस्तो मलाई लाग्छ ।