सेतोपाटीले लेखेको एउटा समाचार २४ घन्टाभित्र हटाउन र स्पष्टीकरण दिन निर्वाचन आयोगले शनिबार लेखेको पत्र आज फिर्ता लिएको छ।
आइतबार बेलुकी विज्ञप्ति जारी गरी आयोगले आफ्नो आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र गएको भन्दै उक्त पत्र फिर्ता लिएको हो।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘… आयोगको आमसञ्चार माध्यमप्रतिको नीति र मान्यताभन्दा फरक हुने गरी यहाँ (अमित ढकाल) प्रधानसम्पादक रहेको सञ्चारमाध्यम (सेतोपाटी) बाट प्रकाशित समाचारको विषयलाई लिएर प्राविधिक कारणले यहाँलाई प्रेषित हुन गएको स्पष्ट गर्ने विषयको पत्र यसै पत्रमार्फत फिर्ता लिइएको बेहोरा आदेशानुसार सादर अनुरोध छ।’
सेतोपाटीले गत शुक्रबार ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता पनि कायमै’ भन्ने समाचार छापेको थियो।
निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा उनका परिवारको चरित्रहत्या भएको र व्यक्तिगत लाञ्छना लगाउने गरी समाचार प्रकाशन भएको देखिएको भन्दै २४ घन्टाभित्र समाचार हटाई स्पष्टीकरण दिन आयोगले शनिबार दिउँसो पत्र काटेको थियो।
आयोगले समाचार हटाउन दिएको निर्देशन र स्पष्टीकरणका लागि लेखेको पत्रको प्रतिवाद गर्दै सेतोपाटीले आइतबार सम्पादकीय लेखेको थियो। सम्पादकीयमार्फत नै सेतोपाटीले उक्त समाचार नहटाउने र आवश्यक परे अदालत जाने बताएको थियो।
सेतोपाटीले आफ्नो सम्पादकीयमा लेखेको थियो, ‘आफ्नो सरोकार नभएको विषयमा संवैधानिक आयोगका सीमा र मर्यादा नाघेर आयोगले समाचार हटाउन निर्देशन दिएको हाम्रो धारणा छ।’
आयोगले समाचार हटाउन दिएको निर्देशन र सोधेको टिप्पणीप्रति हामीले सम्पादकीयमा मुख्य चार विमति उल्लेख गरेका थियौं।
हामीले आयोगलाई प्रतिप्रश्न गर्दै लेखेका थियौं, ‘कुन दृष्टिकोणबाट यो समाचारले प्रतिनिधिसभामा उम्मेदवार भएका अग्नी खरेल र उनको परिवारको चरित्रहत्या गरेको छ? कसरी उनीहरूलाई लाञ्छित गरेको छ? बरू सेतोपाटीमाथि यस्तो मिथ्या आरोप लगाएर संवैधानिक आयोगले हामीलाई सार्वजनिक रूपमा लाञ्छित गरेको छ। यो लाञ्छना प्रमाणित गर्न वा फिर्ता लिन आयोगलाई हाम्रो चुनौती र आग्रह छ।’
निर्वाचन आयोगको पत्रः