राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता घोषणा भएको छ ।राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणा पत्रमा हस्ताक्षर गर्दै एकअर्कालाई हस्तान्तरण गरेका थिए।राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुविकरण पक्षबीच भएको एकता घोषणा पत्रमा चार बुँदे सहमति उल्लेख गरिएका छन् / पहिलो नम्बरमा मिश्रको पदबारे उल्लेख छ। ‘विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरूमा सामेल हुनेछन्,’ पहिलो बुँदामा लेखिएको छ।यस्तै राप्रपामा मिश्रसँगै आउनेलाई कार्यसम्पादन, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन गरिने सहमति छ। त्यसमा लिङ्देन र मिश्रबीच समझदारीमा १० दिनभित्र समायोजनकका काम सक्ने उल्लेख छ।प्रदेश तथा अन्य तहगत समायोजनका लागि राप्रपाबाट २ र मिश्र पक्षबाट २ गरी चार सदस्यीय कार्यदल बनाइएको पनि उल्लेख छ।निर्वाचन आइसकेकोले तहगत समायोजन गर्दा काम नरोक्न र एक आपसमा मिलेर निर्वाचनका लागि जोडदार रूपमा तयारी गर्न आह्वान गर्ने सहमति पनि भएको छ।
मिश्र विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा विचारभन्दा माथि देश सिद्धान्तलाई समर्थन गर्ने अधिकांश केन्द्रीय सदस्य र प्रदेश अध्यक्षहरू राप्रपामा जाने तयारी गरेका छन्। त्यसका लागि केही प्रदेश अध्यक्षहरू र केन्द्रीय सदस्यहरूले विवेकशील साझा पार्टी छाडिसकेका छन्।विवेकशील साझाबाट बागमती प्रदेशकी निवर्तमान सांसद शोभा शाक्य भने आजै मिश्रसँगै राप्रपामा प्रवेश गरिसकेकी छन्।
प्रकाशित मिति: बुधबार, असोज 12,2079/ 19:05