काठमाडौं – यति बेला देश आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको तयारीमा होमिएको छ । देशभरबाट नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । सत्ता गठबन्धनमा सबैभन्दा ठूलो सङ्कट टिकट बाँडफाँटको विषयलाई लिएर सुरु भएको छ । यही रोग नेपाली कांग्रेसभित्र पनि सल्किएको छ । विभिन्न जिल्लाबाट टिकटको विषयलाई लिएर विभिन्न समाचारहरू सार्वजनिक भइरहेका छन् ।
गठबन्धनले पार्टीमा खटिने कार्यकर्ता उपेक्षामा परेको र बेवास्ता गरिएको भन्दै बैतडी कांग्रेसका कार्यकर्ताले विद्रोह गर्ने सङ्केत दिएका छन् । पार्टीले जनता र पार्टीका कार्यकर्ताहरूको भावना विपरीत सिट बाँडफाँट गरेमा भन्दै बैतडीमा विद्रोह हुने निश्चित भएको हो ।
‘गठबन्धन के का लागि भन्ने कुरा महत्त्वपूर्ण छ, गठबन्धन कांग्रेस लगायत गठबन्धन दलहरू कमजोर हुनका लागि हो की एमालेलाई देशैभरिबाट पत्ता साप गर्नका लागि हो या प्रदेश र संसदीय चुनावमा जित्नका लागि ? वा माओवादीलाई चुनावपछि एमालेसँग गठबन्धनको सरकार बनाउन बार्गेनिङ गर्ने अङ्क गणितका लागि हो?,’ यी यावत प्रश्नहरू हुन् बैतडी प्रदेश (ख) बाट प्रदेशसभा सदस्यका आकाङ्क्षी तेज चन्द लगायत पार्टीका नेता कार्यकर्ता सँगै मतदाताले समेत गर्न थालेका छन् ।
अहिले माओवादी केन्द्र र अन्य दलहरूबीच चुनावपछि आलोपालो गरेर सरकारको नेतृत्व गर्ने कुराले महत्त्व राख्छ या सिट सङ्ख्या बढी लिएर धेरै ठाउँमा हारेर एमाले जिताएर एमालेलाई ठूलो दल बनाउने कुराले महत्त्व राख्छ भन्ने कुरा पार्टी नेतृत्वले बुझ्नुपर्ने स्थानीय नेता कार्यकर्ताहरुको भनाई छ ।
‘दलहरूबीच सिट बाँडफाँटमा बढी ठाउँमा चुनाव लड्ने कुरा बहादुरी देख्दैन बरु बढी सिट जित्ने कुरा नै अहिलेको राजनैतिक परिस्थितिको बहादुरी हो त्यही भएर सिटको कुरा छोडेर जीतको आधारमा जित्ने तथ्यहरूको गहन अध्ययन गरी गठबन्धनलाई अगाडी बढाउन नेतृत्वलाई आग्रह गर्दछु,’ बैतडी ख बाट आकाङ्क्षी चन्द भन्छन्, ‘अन्यथा गठबन्धनको औचित्य बैतडीका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात को परिस्थिति सिर्जना हुन जान्छ ।’
‘मेरो मान्यता क्षेत्रका आम नागरिक र आम मतदाताहरू प्रति अन्याय हुने गरी आम आस्था वान मतदाताहरूको भावना विपरीत टिकटको निर्णय भयो भने विद्रोह हुने निश्चित छ । मेरो उम्मेदवारी प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि हो न्यायपूर्ण निर्णय भएन भने आम नागरिक, मतदाता र स्वतन्त्र युवाहरूको सल्लाह अनुरूप बाध्यात्मक विद्रोहको निर्णय गर्नै पर्ने बाध्यता हुनेछ,’ चन्द अगाडी भने, ‘चुनाव जुनसुकै हालतमा लड्ने निश्चित हो । मेरो उम्मेदवारी सशक्त हो । २०६४ साल देखि समाजसेवा र सामाजिक कार्यहरूसँगै सक्रिय राजनीति गर्दै आएको छु नेपाली कांग्रेस बैतडीको क्षेत्रीय सभापति भएर काम गरे अहिले सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्य र महाधिवेशन प्रतिनिधिको रूपमा काम गरी राखेको छु ।’
बैतडीमा कला सांस्कृतिक खेलकुद जस्ता कार्यक्रमहरू आफ्नो तवरबाट १० वर्ष सम्म सञ्चालन गरेर आम नागरिकहरू सबैले नेतृत्वको आशा बोकेका ले यसपालि आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए ।
चन्दलाई स्थानीय युवा, नेता कार्यकर्ताहरूले पार्टीले अपेक्षा विपरीत निर्णय गरे विद्रोह गर्नुपर्ने र चन्दलाई स्वतन्त्रबाट जिताएर पठाउने जिम्मा आफूहरूले लिने उद्घोष गर्न थालेका छन् । तेज चन्द प्रतिनिधीसभा सदस्यको उम्मेदवार बन्ने हैसियत राख्छन् ।