२४ भदौ, (दमक) झापा । २०४८ यताको कुनै संसदीय चुनाव छैन, जसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार नभएका होउन् । ०४८ यताकै त्यस्तो कुनै चुनाव छैन, प्रतिस्पर्धी नेपाली कांग्रेसले उम्मेदवारलाई दोहोर्याएर उठाएको होस् ।
यसपालि झापा क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । तर एमालेबाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ । ०६४ सालमा माओवादीको लहर आएका बेला तत्कालीन माओवादी नेता विश्वदीप लिङ्देनसित पराजित हुनुबाहेक ओलीले चुनाव हारेका छैनन् ।
तीन पटकसम्म मुुलुकको प्रधानमन्त्री भइसकेका ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारिसकेको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनको बलमा सानदार जित हासिल गरेका ओली यसपटक भने रक्षात्मक अवस्थामा छन् । ‘यो क्षेत्रमा एमालेको संगठन बलियो छ, त्यसैले ओलीले निरन्तर चुनाव जित्दै आएका छन्,’ कांग्रेसका पुराना नेता पुर्णानन्द शर्माले अनलाइनखबरसँग भने, ‘तर अहिले गठबन्धनका कारण उनलाई त्यति सजिलो छैन ।’
शर्मा ०४८ सालको चुनावमा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित भएका थिए । ०७४ को चुनावमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव जितेको जस्तो सजिलो नभएपनि ओली पराजित हुने संभावना नरहेको एमाले नेताहरु बताउँछन् । एमाले झापा क्षेत्र नम्बर ५ का इन्चार्ज होमबहादुर थापाले पछिल्लो ५ वर्षमा ओलीले झापा ५ को विकासका लागि महत्वपूर्ण योगदान गरेकाले चुनाव जित्न कठिन नहुने दाबी गरे । ‘पहिलो कुरा त यहाँ एमाले बलियो छ, दोस्रो अध्यक्ष ओलीलाई एमालेमात्रै होइन, अरु दलको पनि साथ छ’, थापाले भने, ‘हामीले अध्यक्षज्यूको लोकप्रियता ०७४ सालमा भन्दा अहिले झन् बढेको अनुभूति गरेका छौं ।’