काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार सुजित केसीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै पत्रकार केसीको रिहाइ गर्न माग गरेका हुन् । विद्युतीय कारोबार ऐनविपरित पूर्वप्रधानमन्त्रीका बारेमा प्रश्न उठाउँदै फेसबुक पेजमा लेखेको उजुरीका आधारमा राष्ट्रिय समाचार अनलाइनका सम्पादक/प्रकाशक केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

केसी एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य हुन् ।
महासंघले जारी गरेको विज्ञप्तिम भनिएको छ– ‘समाचार, विचार र समाचारमूलक सन्देशहरु पूवाह गर्न पाउने तथा कुनै पनि सार्वजनिक विषयमा विचार अभिव्यक्त गर्नु र टीका टिप्पणी गरिनु पत्रकारको नैसर्गिक हक हो । त्यसले कसैको मर्यादा, चरित्रमा धक्का पुगेमा क्षतिपूर्ति दाबी गर्ने वा प्रेस काउन्सिलमा उजुरी गर्ने सर्वमान्य अभ्यास छ । यससम्बनधी सबै काम कारबाही प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा रहेको पनि जानकारी गराइन्छ ।’ यसलाई वेवास्ता गरी अर्कै प्रयोजनका लागि बनेको कानुन प्रयोग गरेर पत्रकारलाई पक्राउ गरिनेलाई महासंघले अत्यन्न निन्दनीय र प्रेस स्वतन्त्रतााथिको हस्तक्षेपका रुपमा लिएको छ ।
केसी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजकसमेत हुन् । केसीलाई पक्राउ गरिएकोमा नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेशलेसमेत विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ ।
यता प्रहरीको साइबर ब्यूरोले जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ । शुक्रबार पक्राउ परेका केसीका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि पाँच दिनको समय पाएको छ ।
