५ वैशाख, काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ ।
यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् ।
छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो । सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो ।
बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो ।