काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा हङकङले यूएईलाई जितका लागि २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । हङकङका बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै १५ बलमै अर्धशतक बनाए ।
मूलपानीमा भइरहेको खेलमा टस जितेर हङकङले पहिले ब्याटिङ रोजेको थियो । ३३ बलमा कप्तान निजकत खानलाई गुमाएको हङकङ त्यसपछि भने खेलमा हावी भयो । दोस्रो विकेटका लागि मार्टिन कोयट्जी र अंशुमान रथबीच शतकीय साझेदारी भएको थियो । अंशुमान ३५ बलमा ४१ रन बनाएर आउट हुँदा हङकङ १३९/२ को स्थितिमा पुगेको थियो ।
चौंथो नम्बरमा क्रिजमा आएका बाबरले यूएईका बलरहरुमाथि हमला गरे । उनले २० बलमै ६० रन बनाएपछि हङकङले २ सयको स्कोर पार गरेको हो । उनले ५ छक्का र ५ चौका प्रहार गरे । खेलको २७ औं ओभरमा बाबरले २७ रन जोडेका थिए ।
ओपनर कोयट्जीले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ८६ रन जोडे । यूएईका बलरले हङकङको तीन विकेटमात्र लिन सके ।