काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेपालले जितका लागि हङकङबाट ९५ रनको लक्ष्य पाएको छ । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । पहिले ब्याटिङ गरेको हङकङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन मात्र बनाउन सक्यो ।
नेपाली टोलीका बलर करण केसीले चार विकेट लिए । उनले चार ओभरमा १५ रन खर्चिए । सोमपाल कामी र अविनाष बोहराले पनि दुई—दुई विकेट हात पारे । कुशल मल्ल र मौसम ढकालले एक—एक विकेट लिए ।
हङकङ का लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाए । यासिम मुर्तजाले ३६ र जिसन अलीले १७ रन बनाए । हङकङले अन्तिम विकेटका रूपमा एहसान खानलाई चार रनमा गुमाएको थियो । उनको विकेट सोमपाल कामीले लिए । हङकङले अतिरिक्त रूपमा चार रन पायो ।
करणले पहिलो बलमै हङ्कङको विकेट लिएका थिए । उनले हङकङका ओपनर निजाकत खानलाई बोल्ड गरेका थिए । निजाकत हङकङका कप्तान पनि हुन् । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
दोस्रो विकेट पनि करण केसीले नै लिएका थिए । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले राथलाई आसिफ शेखद्वारा क्याच गराएका थिए ।
हङकङको तेस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले हङ्कङका चौथो नम्बरका ब्याट्सम्यान मार्टिन कोएट्जीलाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । त्यतिबेला हङकङले चार ओभरमा तीन विकेट गुमाएर १४ रन बनाएको थियो ।
हङकङको चौथो विकेट पनि करण केसीले लिएका थिए । उनले हङकङका तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातलाई पाँच रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले हायातलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । करणले लिएको यो तेस्रो विकेट थियो ।
हङकङको पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । उनले हङ्कङका अजिज खानलाई सात रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले अजिजलाई करण केसीद्वारा क्याच गराएका थिए । अजिज आउट हुँदा हङकङले ८.२ ओभरमा पाँच विकेट गुमाएर ३३ रन बनाएको थियो ।
यसैगरी हङकङको छैटौँ विकेट मौसम ढकालले लिएका थिए । मौसमले हङ्कङका जिसन अलीलाई १७ रनको व्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जिसनले २० बलमा दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा हङ्कङले १३.५ ओभरमा ६ विकेट गुमाएर ६३ रन बनाएको थियो ।
हङकङको सातौँ विकेट अविनाश बोहराले लिएका थिए । उनले हङ्कङका ब्याट्सम्यान छैटौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्जजालाई ३६ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि मासिमले ३६ बलमा एक छक्का र दुई चौका हिर्काएका थिए ।
हङकङको आठौँ विकेट पनि करण केसीले लिएका थिए । उनले हङकङका हारुन अर्सदलाई पेभेलियन फर्काए । करणले उनलाई दुई रनको व्यक्तिगत स्कोरका बोल्ड गरे । हङ्कङकले १७.३ ओभरमा आठ विकेट गुमाएर ८६ रन बनाएको थियो । करणले लिएको याे चौथो विकेट थियो ।
हङकङको नवौँ विकेट अविनाश बोहराले लिएका थिए । उनले हङकङका अदित गोरावारालाई आठ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । अविनाशले लिएको यो दोस्रो विकेट थियो । गोरावारा आउट हुँदा हङकङले १८.४ ओभरमा ९० रन बनाएको थियो ।
जारी शृङ्खलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि बुधवार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराएको थियो । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृङ्खला खेल्न लागिएको हो ।