कोसी प्रदेशमा जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहने जनाएको छ। प्रदेश सभामा एक मात्र सिट रहेको जसपाकी प्रदेश सभासदस्य निर्मला तावा लिम्बूले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताएकी छिन्।
विराटनगरस्थित कोसी प्रदेशसभाको बैठकमा पूर्वमन्त्रीसमेत रहिसकेकी लिम्बूले भनिन्, ‘मुलुकको संविधानको मूलमर्म र संघीयता बचाउन जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन्छु। तर हामी सत्ता पक्षमा छैनौं। हामी प्रतिपक्षमै छौं।’
उनले प्रदेश स्थायी सरकारले मात्र जनताको समस्या समाधान गर्न सक्ने बताइन्। प्रदेशको नामांकनको विषयमा उठेको आन्दोलन यथावत् रहेको बताउँदै प्रदेश सभासदस्य लिम्बूले राजनीतिक निकासका लागि वार्ता र संवादको बाटोबाट निकास खोजिनुपर्नेमा जोड दिइन्। लिम्बूले स्थायी सरकार निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने बताइन्।