काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको बताएका छन्।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताएका हुन्।
उनले अझै पनि दलहरूले आफ्नो मान्छेलाई भर्ती गर्ने गरेको बताए। उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए।
उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे।
उनले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताए। त्यस्तै सभापति लामिछानेले इजरायलस्थित नेपाली दूतावासले गैरआवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताए।
उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ। समावेशी लोकतन्त्रभित्र आइपुगेका छौँ। तर, रास्वपा बाहेकका दलहरुमा अझैपनि राणा शासन कायम रह्यो। जसले गर्दाखेरी मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्दाखेरी पनि आफ्ना मान्छेहरुले भर्ती पाउने, चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायमै रह्यो। हिजो राणा शासनमा पनि त हुक्के, बैठक, चाकडी गर्ने, तेल लगाउने मान्छेहरुलाई तिमीलाई यति जग्गा बिर्ता, तिमीलाई यहाँको सम्पत्ति, तिमीलाई यो भनेर दिइन्थ्यो।’
सभापति लामिछानेले गैरआवासिय नेपाली संघको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पारे। पार्टीका नेताहरु कुनै उम्मेदवारको पक्षमा लागेको पाइएमा कारबाही हुने उनले बताए।
सभापति लामिछानेले विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको बताए। उनले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दासमेत कार्यान्वयन हुन नसकेको बताए। उनले विदेशमा रहेका नेपालीको मताधिकारका लागि आफूहरु जोडतोडका साथ लाग्ने बताए।
सभापति लामिछानेले गैरआवासीय नेपालीहरुले नेपालमा सहज रुपमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले लगानीका लागि गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरिनुपर्ने बताए। त्यस्तै, लगानीको मुनाफा सहजै देश बाहिर लान पनि पाउनुपर्ने उनको भनाइ छ।