११,असोज काठमाडौँ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वड नं. ६ मा रहेको उकु महल संरक्षण नहुँदा अस्तित्व गुमाउने अवस्थामा पुगिसकेको छ । यसमा रहेका भग्नावशेषको उत्खनन् , प्रचारप्रसार , अनुसन्धान तथा संरक्षणमा ढिलाइ हुँदा संकटमा परेको हो ।
उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरु अहिले पनि यथावत छन । मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरिएको इतिहास भेटिन्छ । कत्युरी राजवंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट, दिपायल लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ ।
सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको ईतिहास रहेको छ । अहिले पनि उकु क्षेत्र र उकुसँग सिमाना जोडिएका भारतिय क्षेत्र अस्कोटमा पालहरुको बसोबास रहेको छ । उकु महलका भग्नावशेष राजा नाग पालले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मुर्ती र सिलालेखहरु जम्मा गरेका थिए । यो ऐतिहासिक महत्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरबारको मजबुत किल्लाहरु, ढुङ्गामा कुँदिएका विभिन्न भगवानका मुर्तिहरु, विभिन्न आकृतिका ढुङ्गाहरुले दर्शाइरहेका छन । दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरुले पुष्टि गर्दछ ।

उकुको ऐतिहासिक सम्बन्ध सीमावर्ती भारतको अस्कोटसँग रहेको छ । अस्कोटको इतिहास अनुसार सन १२७९ मा अभय पाल रणचुलाहाट स्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभय पालले वरपरका विभिन्न ८० वटा कोटहरुको एकीकरण गरेर अस्कोट नामाकरण गरेको इतिहासमा उल्लेख रहेको छ । निरै पालको ऐतिहासिक अभिलेख डोटि, डडेल्धुरा , पिथौरागढको डिडिहाट र अल्मोडामा पनि भेटिएको छ ।
नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन १३५२ देखि सन १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरै पाल लेखिएको ढुङ्गा सन १३५४ भेटिएको थियो । यी सबै ऐतिहासिक कार्यक्रमहरु समान देखिएकाले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने कुनै ठाउँ नै छैन । निरै पाललाइ उकु अस्कोटका राजा भन्ने गरिन्छ । विभिन्न ठाउँहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले निरै पाल शक्तिशाली राजा भएको देखाउँछ । जसको केन्द्र महाकाली नदिको किनारमा अवस्थित उकु भएको कारण ले यो स्थलको पुरातत्विक महत्वलाइ वेवास्ता गर्न सकिदैन । निरै पाललाइ उकुका रजबार भारती पालका पुर्ववर्ती रजबार थिए भन्ने विभिन्न कालखण्डले प्रष्ट्याएको छ ।
उकुको इतिहास सम्बन्धि एउटा लेख अनुसार उकुकोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग मल्लका तीनवटा रानीहरुले निर्माण गराएका थिए । नाग मल्ल डोटिका राजा थिए र यसको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो । नाग मल्लको राज्यकाल लगभग सन १३८४ देखि सन १३९३ सम्म रहेको थियो । उकुको हरिहर मन्दिर राजा नाग मल्कको पालामा बनेको अनुमान गरिएतापनि मन्दिर स्थापनाबारे स्पष्ट मिति भने नेपालको इतिहासमा प्राप्त भएको छैन । आचार्य शिव प्रसाद डरवालको ‘उत्तराखण्डका इतिहास’ भन्ने पुस्तकमा १०८० देखि १०९० इसापुर्वमा उकुको दरबार निर्माण भएको कुरा उल्लेख गरिएको छ । नेपाल पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत नवराज अधिकारीले बि. सं. २०६३/६४ मा दार्चुलामा पुरातात्त्विक अध्ययन गरेको पाइन्छ । सो अध्ययन पश्चात् उकु मन्दिरको भग्नावशेषलाइ ‘क’ वर्गको साइटमा वर्गीकरण गरिएको छ ।

उकु दरबारमा विशेष गरि भगवान विष्णु , भगवान शिवका मुर्तिहरु कुँदिएका छन पुरातात्त्विक महत्वका क्षेत्रको गहन अध्ययन , अनुसन्धान र उत्खनन गर्न सके यसले दार्चुला जिल्लाको छुट्टै ऐतिहासिक पहिचान स्थापित गर्न सकिनेमा कुनै दुइमत छैन । यस क्षेत्रमा विशेषत: भगवान विष्णु,शिव र माता लक्ष्मीका मुर्तिहरु कोरिएका छन । यसको ईतिहास कति बर्ष पुरानो हो भनेर भन्न कठिन छ । यस क्षेत्रमा भेटिएका शिलालेखहरु अहिले पढ्न सकिने अवस्थामा छैनन । केही माटो भित्र पुरिएका छन भने केही टुटफुट भएको र मेटिएको अवस्थामा छन । उकु महलमा रहेको सिलालेखमा भएका कुनै पनि अक्षर आँखाले देख्न र पढ्न सकिने अवस्थामा छैनन । उकु महलको भग्नावशेष वरिपरि अहिले तारजाली लगाएर संरक्षण प्रयास गरिएको भएतापनी यो पर्याप्त छैन । उचित संरक्षण र व्यवस्थापनको अभावमा दिन प्रतिदिन यो उकु महल संकटमा पर्दै गएको छ ।
उकु महलको अध्ययन, अनुसन्धान , संरक्षण , सम्वर्धन, प्रवर्द्धन, व्यवस्थापन र पर्यटकिय स्थलको रुपमा प्रचार प्रसार गर्न वडा, गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारका साथै निर्वाचित जनप्रतिनिधिहरुले पनि पुरातत्त्व विभागसँग समन्वय र सहकार्य गर्नु अति आवश्यक रहेको छ ।
