संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महाराजगन्जस्थित टिचिङ अस्पताल पुगेका छन्।
मंगलबार बिहान उनी टिचिङ अस्पताल पुगेका हुन्। उनीसँगै सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अस्पतालमा पुगेका छन्।
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको राति १ बजे हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि टिचिङ अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो।
इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए।
२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद भए।
२०५६ सालपछि उनी इलामबाटै निरन्तर पाँच पटक विजयी भएका थिए। २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।
२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए।उनकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो।
स्नातक अध्ययनका क्रममा २०२८/२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय थिए।
२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बनेका हुन्।
पञ्चायती निरङ्कुशताविरूद्धको राजनीतिक आन्दोलनका क्रममा पटक-पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल परेका थिए।
वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसमा पढाएका थिए। प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन्।
पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए। शालीन स्वभावका नेम्वाङले आफूलाई भेट्न चाहानेहरूसँग सहज पहुँचमा रहन्थे।