काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राखेका छन् ।
अध्यक्ष नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गर्दै प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तर, आफूहरुले चाहेअनुसार पार्टी अगाडि बढाउन नसकेको भन्दै प्रतिवेदनमा भनेका छन्, ‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन । पार्टी पङ्क्तिमा आलस्य, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरी देखिएका छन् । यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन् । सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो ।’
साथै पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने तर वहन नगर्ने प्रवृत्ति, आत्मविश्वासको कमीको कारणले पार्टीमा निराशा पैदा भएको अध्यक्ष नेपालको भनाइ छ ।
तर, नेता खनालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्यसमेत पुष्टि गर्न नसकेको कारणले नेता कार्यकर्ता पलायन भएको दाबी गरे ।
अध्यक्ष नेपालले प्रतिवेदनमा राखेको एमालेभन्दा आफूहरु फरक भएको ७ बुँदे धारणासमेत स्वीकार्न खनाल तयार भएनन् । त्यसो त साउन १९ गते बसेको स्थायी कमिटीको बैठकमा पनि उनले १६ पन्ने फरक मत राखेका थिए ।
खनालले नेतृत्वको आलोचना गर्दै एमालेभन्दा फरक देखाउन नसकेको आरोप लगाएका थिए । कांग्रेस र माओवादीकै पछि लागेको कारणले संगठन विस्तारमा कमी भएको उनको राय थियो । उनले आजको बैठकमा पनि त्यही १६ पन्ने धारणालाई दोहोर्याएको एक नेताले बताए ।
ती नेताले भने, ‘उहाँले सचिवालयमा ६ घण्टा बोल्नुभयो । हामीले पनि सबैले बोलेका हौं । त्यसमा हाम्रो राजनीतिक, सैद्धान्तिक, विद्रोहको औचित्यलगायतका बिषयमा छलफल गरेका हौं । त्यही कुरालाई आधार बनाएर आज अध्यक्षले प्रस्तुत गर्नुभयो । उहाँले अध्यक्षको प्रतिवेदनमा केही कुरामा डिफेन्स गर्नुभयो । केही कुरामा मेरो चित्त बुझेको छैन भन्नुभयो ।’
नेता खनालले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाउँदै छलफलका लागि पर्याप्त समयको माग गर्दै आज डेढ घण्टा बोलेको ती नेताले बताए ।
अध्यक्ष नेपालले प्रतिवेदन प्रस्तुत गरेपछि आज नेता खनालले आफ्नो धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘आजको बैठकमा सम्मानित नेता खनालले आफ्नो धारणा राख्नुभयो । भोलि बिहान ८ बजेबाट फेरि बस्ने बैठकमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम सुरु हुन्छ ।’