काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले कोसी प्रेदशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन्।कोसी सरकार गठनबारे दलहरूबीच रस्साकस्सी चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका हुन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,’सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र?’
सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुने र प्रतिक्रान्तिको आधार तयार हुने बताउँदै यो विषय लोकतन्त्रवादीहरूले बुझ्नुपर्ने उनको भनाइ छ। ‘सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने, ‘भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।
सर्वोच्च अदालतको आदेशबाट नेपाली कांग्रेसका उद्दव थापा मुख्यमन्त्रीबाट पदमुक्त भएपछि कोसीमा नयाँ सरकार गठनको प्रकिया अघि बढेको छ। प्रदेश प्रमुख परशुराम खापुनले यही साउन १६ गते अपरान्ह ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
तर , हालसम्म कुनै पनि दलले बहुमत जुटाउन सकेका छैनन्।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०,कांग्रेसका २९ माओवादी केन्द्रका १३,राप्रपाका ६,एकीकृत समाजवादी ४ र जसपाका १ छन्।
बहुमतका लागि ४७ जना सांसदको मत आवश्यक पर्छ।