बझाङमा एक जनाले बनाउँदै गरेको घर गाउँलेहरूले भत्काइदिएका छन्।
बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर सार्वजनिक जग्गामा परेको भन्दै गाउँलेले भत्काएका हुन्।
भारतको दिल्लीमा रोजगारी गर्ने ओखेडाको वडा नम्बर–७ मा जमिन छ। उनका बुवाले २०५७ सालमै सो जमिन किनेको बताए। आफ्नो जमिनमा घर बनाउँदा ३०/४० जना गाउँले आएर भत्काएको उनको भनाइ छ।
‘सार्वजनिक जमिन हो, तेरो होइन भनेर घर पनि भत्काए, बाली, मकै काटेर आफ्ना गाईभैंसीलाई लिएर गएछन् यिनीहरूले,’ उनले भने, ‘हामी जाँदा खेरी मलाई दलित तँ के गर्न सक्छस् भने।’
त्यसपछि उनले आफ्नो बन्दै गरेको घर भत्काउँदै गरेको दृष्य लुकेर मोबाइलबाट भिडिओ बनाएको बताए।
करण केही दिनअघि दिल्लीबाट आएका थिए। रोपाइँ सकेर उनले घर बनाउन थालेका थिए। मिस्त्री, लेभर लगाएर काम भइरहेको थियो।
चार भाइ भएकाले पुरानो घर साँघुरो हुन थालेपछि थप्न खोजेको उनले बताए।
‘मेरो जमिनभन्दा माथि वन छ, त्यो सार्वजनिक होला, हामीले आफ्नै जमिनमा घर बनाउन खोजेका हौं,’ उनले भने।
त्यहाँ स्थानीय उनको घरहरू भुइँतलामा गोठ, बीचमा घर र माथिल्लोमा पाँण (तीन तले घर) बनाउने चलन छ। करणले गोठ तलामा चिनाइ सुरू गरी ढोका लगाउँदै गर्दा घर फालेको बताए।
‘किनेदेखि अघि यो घरभन्दा तल तेरो हो, कमाइ खायै भनेर २३ वर्षदेखि चलन भोग गरी आएका हौं,’ उनले भने।
घटना साउन १० गते बिहान ११ बजे हो।
ओखेडाको घरसँगै अरू जमिन पनि छ। ६ नम्बर वडामा पनि उनको घर छ। अहिले सो विषय जिल्ला प्रहरी कार्यालयमा पुगेको छु। ओखेडाले घर भत्काउनेविरूद्ध मुद्दा हाल्ने सोच बनाएको बताए। उनका बुवा र भाइ जिल्ला प्रहरी कार्यालय पुगेका थिए।
घर भत्काउनुअघि नगरपालिका वा वडाबाट कसैले केही भनेनन्। ओखेडाले मिलापत्र गराउन खोजे आफू नमिल्ने बताए।
‘मेरो घर फालेका छन्, मेरो परिवार छ, गाइगोरु छ, म त मिल्दैन,’ उनले भने।
यो विषय तीन महिना अघि गाउँपालिकाको कार्यालयमा पुगेको थियो। गाउँपालिकाका अध्यक्ष अमरसिंह महरका अनुसार पहिले नै सार्वजनिक जमिनमा घर लगाएको भनेर अरूले विरोध गरेका थिए। स्थानीयले यो विषयको निवेदन ल्याएर गाउँपालिका आएका थिए। पछि अमिन ल्याएर कुरा गरौंला भन्दाखेरी आज गाउँलेहरू आएर त्यसो गरेको अध्यक्ष महरले बताए।
‘जमिन चाहिँ ती बाहुन परिवारबाट ओखेडाले किनेको हो, उनीहरूको भनाइ हामीले त्योभन्दा तल दिएको उसले सार्वजनिक जमिन मासेको भन्ने आरो थियो, उसले मैले किनेको हो यो पनि मेरै हुनुपर्छ भनेर वर्षौंदेखिको झगडा हो,’ उनले भने।
ऐलानी भए पनि जसको कित्ताको नजिक छ, उसैले भोगचलन गर्न पाउने भनाइ ओखेडा परिवारको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ओखेडाले आफ्नो घर भत्काइदिएको भन्दै उजुरी दिएका छन्।
प्रहरीले प्रारम्भिक रूपमा बुझ्ने काम गरिरहेको बताएको छ।
सार्वजनिक जमिन भए पनि वडाले गर्ने काम स्थानीयले गरेपछि कानूनविपरीत भएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले दुबै पक्षलाई बोलाएर के भएको हो, कसको जग्गा हो भनेर छलफल भइरहेको बताए।
अहिले सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।