काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् । उनले अब सरकार गठनको प्रक्रियामा आफू संलग्न नहुने प्रतिक्रिया दिए ।
सर्वोच्च अदालतले आज कोशीमा उद्धव थापाको सरकार विघटन गरिदिएपछि सभामुखले सो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘सर्वोच्चले दिएको आदेश सबैले सम्मान गर्नुपर्छ । म पनि सम्मान गरेर अगाडि बढ्छु ।’
सर्वोच्चको फैसलापछि नैतिकरुपमा राजीनामा दिनुहुन्छ कि भन्ने प्रश्नमा उनले त्यस्तो आवश्यकता नरहेको बताए ।
‘न निवेदकले माग गरेको छ, न सर्वोच्चले भनेको छ । त्यो विषयमा बोल्नुपर्ने केही देखिएन,’ उनले भने ।
अब सरकार गठनको कुरा दलहरुको मात्रै विषय भएको सभामुख गौतमको भनाइ छ ।
‘अब कुन दलले बहुमत पुर्याउँछ त्यसैले सरकार बनाउँछ । सभामुखको भूमिका नरहने कुरा सर्वोच्चले प्रष्ट गरिसक्यो । दलहरुले पुर्याएर लैजालान् भन्ने आशा गर्ने हो । अब कसले सरकार बनाउने मेरो विषय नै भएन ।’
आफूले वाध्यता र परिस्थितिका कारण सरकार गठन प्रक्रियामा संलग्न हुनु परेको भन्दै कुनै पश्चाताप नरहेको पनि बताएका छन् ।