बैतडी– बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ स्थित मेलौली भगवती मन्दिर जोड्ने सडक निर्माणाधिन अवस्थामा छ ।
यहाँका स्थानीयहरुले दैनिक आवतजावत यहि बाटो बाट गर्छन् । घाँस दाउरा ल्याउन, पानी भर्न तथा बजारमा किनमेल गर्न र बिद्यालय जान दैनिक यहि बाटो प्रयोग हुन्छ । तर निर्माणकार्य अलपत्र छोडेर सडकको वेहाल बनाइएको छ ।
वर्षातको समयमा सडक निर्माणकोका काम सुरुवात गरि अलपत्र छोडिदिँदा आवतजावतमा सास्ती भइरहेको एक जना स्थानीय कमला नायकले बताइन् । सडक खनेर छोडिदिँदा हिँडडुल गर्नै समस्या भइरहेको उनले बताइन् ।उनले भनिन्, “विहान पानी भर्न जानुपर्छ । हिँड्न सक्ने बाटो नै छैन् । टाढाबाट पानी भरेर ल्याउनु पर्छ । यो बाटोमा चिप्लो भएर लडीन्छ । पहिले त सुख्खा थियो हिँड्न सहज हुन्थ्यो अहिले खनेर अलपत्र छोडीदिएको छ । धेरै समस्या भइरहेको छ ।’’
मेलौली उग्रतारा रोड जाने सडकमा पर्ने खेउडे पार्कबाट भगवती मन्दिर जोड्ने सडकको निर्माण कार्य अलपत्र पार्दा स्थानीयले सास्ती खेप्नुपरिरहेको हो ।

ग्रावेल गर्नका खनिएको सो सडक रोपाई गर्ने खेत जस्तै बनेको छ । बीच सडकमा ढुगां फालिएको छ भने हिँडन लायक सडक नै छैन् । सडकलाई जोतेको खेत जस्तो बनाएर अलपत्र छाडी आफुहरुलाई दुःख दिएको अर्का स्थानीय नरेन्द्र सिंह नेगिले बताए ।
उनले भने, “पहिले त एकदम हिंड्न सजिलो हुन्थ्यो । पानी परोस या नपरोस । अहिले असार मसान्तमा आएर असारे बजेट निकासा गर्ने ध्येयले बाटोमा डोजर चलाएर अलपत्रै छोडिदिएको छ । यसले हामीले सास्ती खेप्नुपरिरहेको छ ।’’
उनले असारको अन्तिममा आएर सडक खनि जिम्मेवार निकाय गायव भएको समेत आरोप लगाए ।

जिम्मेवार निकायको वेवास्ताका कारण आफुहरुले सास्ती खेप्नु परिरहको स्थानीय मिना नेगिले बताइन् ।
पहिले बाटो सहजै भएपनि ग्रावेल गर्ने भन्दै सडक खन्दा सास्ती बढेको उनले बताइन् । सो सडकमा बालबालीका हरुका लागी बढी जोखीम रहेको उनको भनाइ छ । उनले सो बाटोमा वस्तुभाउ हिँड्न पनि जोखीम रहेको बताइन् ।
उनले भनिन्, “पानी भर्न, गाइवस्तु चराउन, दाउरा घाँस गर्न, बजार किनमेल गर्न, विद्यालय जान यही बाटो प्रयोग गर्छौँ। मुख्य बाटो भनेको नै यहि हो । तर नगरपालिकाले यो बाटोको वेहाल बनाइदिएको छ । जेष्ठनागरिक र बालबालीकाहरुका लागि झन खतरा बनेको छ । ग्रावेल गर्ने भनेर बाटो खनिएको भने तर खेत जोतेझैँ गरि बाटो अलपत्र पारिदिएको छ । जोखिम मोलेर हिँड्डुल गर्नु पर्ने बाध्यता छ ।’’

सोही बाटो भएर मेलौली भगवती मन्दिरको भ्रमण तथा दर्शन गर्न दर्शनार्थी पनि आउने गरेका छन् । असारे बजेट निकासा गर्नका लागि असारको अन्तिम समयमा आएर सडकमा डोजर चलाई अलपत्र पारेर स्थानीयलाई दुःख दिएको स्थानीयको आरोप छ ।
तर सडक निर्माणको जिम्मा पाएको अखिल निर्माण सेवाले भने वर्षातका कारण काम गर्न समस्या भएको जनाएको छ ।

लागातारको वर्षातका कारण सडक निर्माणमा ढिलाई भएको अखिल निर्माण सेवाका साइड इन्चार्ज जयसिंह ठगुन्नाले बताए । सो सडकमा ग्रावेल गरिने उनले बताए । गत जेठको पहिलो साता सम्झौता भएको सो सडक असोजमा सम्पन्न हुने उनको भनाइ छ ।
उनले भने, “सडक निर्माणको समयमा वर्षा भएपनि निर्माण कार्य रोकिएको हो । हामीले असोजमा सक्ने गरि निर्माण कार्य गरिरहेका छौँ । सडक निर्माणको क्रममा सम्बन्धित स्थानीयले पनि विवाद जनाउँदा निर्माण कार्यमा ढिलाई भएको हो । वर्षा कम भएसंगै निर्माण कार्य अगाडी बढाउछौँ ।’’

मेलौली भगवती मन्दिरको दर्शन गर्न आउने मुख्य बाटो नै सोही सडक छ । बीच सडकमा ढुँगा हुँदा तथा सडक चिप्लो र हिलाम्य हुँदा लड्ने हातखुटटा भाँचिने जोखीम रहेको छ ।

असारको अन्तिममा आएर खनीएको सो सडकले नगरपालिकालाई नै गिज्याइरहेको छ ।