एसीसी टिम्स इमर्जिङ एसियाकपमा नेपालले सान्त्वना जित निकालेको छ। नेपालले आफ्नो अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जित दर्ता गरेको हो।
जितका लागि पाएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेटको क्षतीमा भेट्टायो। जसमा कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान गरे । यस्तै देब खनालले २४, सन्दीप जोराले २४,गुल्शन झाले ११, रोहित पौडेलले ९ रन बनाए।
युएइका मोहम्मद फराजउद्दीनले ५ विकेट हात पारे। त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो।
युएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। त्यस्तै इथान डिसुजाले १८, अस्वस्थ भालथापाले १६ रनको योगदान गरे। त्यस्तै युएईका आर्यांस शर्माले १४ र जस जियान्नीले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन असफल रहे।
नेपालका लागि कुशल भुर्तेलले छ, श्याम ढकालले दुई तथा कुशल मल्ल र पवन सर्राफले एक एक विकेट लिए।
कुशल भुर्तेलले करियर कै सफल बलिङ गरेका छन्। उनले आफ्नो पुरा स्पेल बलिङ गर्दै ४० रन खर्चेर ६ विकेट लिए। त्यस्तै मौसम ढकालले ९ ओभर बलिङ गर्दा दुई विकेट लिए। कुशल मल्ल र पवन सर्राफको नाममा एक एक विकेट रह्यो।
युएईविरद्धको खेलमा नेपालले आज चार परिवर्तन गरेको थियो। नेपालका सोमपाल कामी, आशिफ शेख, ललित नारायण राजवंशी र भिम सार्की बेन्चमा बस्दा प्रतिस जिसी, मौसम ढकाल सन्दिप जोरा र अर्जुन साउदले मौका पाएका हुन्।
यसअघि प्रतियोगिताको अन्तरगत भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा भारत ए सँग ९ विकेटले पराजित भएको थियो।