काठमाडौँ- आर्थिक वर्ष २०७९/०८० मा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी वृत्तहरूमा पठाएको छ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र सम्बन्धित प्रहरी कार्यालयहरूको संयुक्त टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चालकलाई चेक गर्दै आएको छ।
भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मधेस प्रदेश-०३-००१ ज ०३ ०३ नम्बरको भाडाको विंगर चलाएका सर्लाही लालबन्दीका ३२ वर्षीय राजीव कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको छ।
लापसे गरी सवारी साधन चलाउने चालकमध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।