काठमाडौं । जिम्बाबेमा आयोजित विश्वकप क्वालिफायरमा नेपालले सोचे जस्तो सफलता नपाए पनि केही खेलाडीहरु भने व्यक्तिगत रुपमा चम्किए । जसमध्ये एक हुन् अलराउन्डर गुल्शन झा ।
पछिल्लो समय नेपाली क्रिकेटमा उदीयमान स्टारको रुपमा हेरिएका गुल्शनले जिम्बाबेमा ब्याट र बल दुवैबाट अब्बल प्रदर्शन गरेका थिए । उनले ६ खेल खेल्दा एक अर्धशतकसहित १३९ रन बनाए भने ९ विकेट पनि लिए । हरेक प्रतियोगितासँग निखारिँदै गएका गुल्शनको फ्यान फलोइङ पनि बढ्दो छ ।
आज नेपाली क्रिकेट टीम जिम्बाबेबाट फर्किँदा त्रिभुवन विमानस्थलमा पत्रकारको निशानामा गुल्शन पर्ने नै भए । उनलाई जिम्बाबेको अनुभव सोधियो । उनले सहज रुपमा उत्तर दिए, ‘रिजल्ट हाम्रो पक्षमा नहुँदा पनि अनुभव राम्रो बटुल्यौं । धेरै कुरा सिक्न पायौं । नयाँ कुराहरु थाहा पायौं ।’
यत्तिकैमा एक पत्रकारले उनलाई ‘एसईई पास भएकोमा’ बधाई दिइन् । तर, गुल्शन भने हाँस्न थाले ।
‘एसईई ? मैले त दिएकै छैन’, उनले हाँस्दै भने ।
पत्रकारले गुल्शन एसईई पास भएको भनेर सामाजिक सञ्जालमा आएको सुनाए ।
गुल्शनले भने, ‘मैले पनि हेरें । खोइ थाहा छैन कसरी आयो यस्तो खबर ! यो फेक हो ।’
हिजो एसईईको नतिजा प्रकाशित भएपछि गुल्शनले ३.६० जीपीए ल्याएको भन्दै सामाजिक सञ्जालमा धेरैले बधाई दिइरहेका छन् । तर, गुल्शनले ८ कक्षापछि पढाइ छोडेका थिए । पारिवारिक स्रोतका अनुसार क्रिकेट मोहकै कारण उनले विद्यालयस्तरको पढाइ पनि पूरा नगरिकन औपचारिक अध्ययनलाई बिट मारेका हुन् । बुबा अखिलेश झा र आमा अञ्जुदेवीले छोराको अभिरुचिलाई कदर गर्दै पढाइ छोडेर भारत जान अनुमति दिएका थिए । त्यसबेला उनको उमेर १२ वर्ष थियो ।
गुल्शनले भारतको झारखण्डस्थित राँचीमा रहेको अरुणोदय क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । कोभिडले प्रशिक्षण प्रभावित भएपछि उनी नेपाल फर्किएका थिए । उनी नेपाल आउँदा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेशमा छनोट चलिरहेको थियो । तर, उनी छनोटमा पर्न सकेनन् । त्यसपछि उनी काठमाडौं आए ।
काठमाडौंमा नेपाल पुलिस क्लवका प्रशिक्षक मनोज कटुवालले उनको प्रतिभा पहिचान गर्दै झालाई टोलीमा राखे । त्यसबेला पुलिसका फास्ट बलर रसिद खान घाइते भएकाले उनको स्थानमा झाले मौका पाएका थिए । दुई वर्षअघि काठमाडौंमा भएको मेयर्स कप क्रिकेटको फाइनलमा उत्कृष्ट बलिङ गरेपछि तत्कालीन राष्ट्रिय टीमका प्रशिक्षक डेभ ह्वाटमोरको नजरमा परे उनी । उक्त फाइनलमा गुल्शन ४ विकेट लिँदै म्याच अफ दि म्याच बनेका थिए । सोही प्रदर्शनले उनको राष्ट्रिय टीममा ढोका खुल्यो ।
२०२१ सेप्टेम्बर १७ तारिखमा अमेरिकाविरुद्धको खेलमा गुल्शनले डेब्यू गरेका हुन् । पहिलो म्याचमा छैटौं नम्बरमा ब्याटिङ गर्दै उनले २८ रन जोडेका थिए । बलिङ भने उनको चलेको थिएन । विश्वकप लिग- २ को अन्तिम खेलमा यूएईविरुद्ध बनाएको अविजित ५० रनपछि उनी धेरैको नोटिसमा परे । एसीसी प्रिमियर कपको फाइनलमा पनि यूएईविरुद्ध नै अविजित ६७ रन बनाएर टीमलाई जिताए ।

बलरका रुपमा टीममा समावेश भएपछि गुल्शनको बलिङभन्दा ब्याटिङ हिट भइरहेको छ । तल्लो क्रममा उनको ब्याटिङले नेपाललाई धेरै फाइदा पुगेको छ । ६ फिट १ इन्च अग्लो कदका गुल्शन एउटा भरपर्दो अलराउन्डरको रुपमा उदाएका छन् । उनी दायाँ हातले बलिङ गर्छन् भने बायाँ हातले ब्याटिङ गर्छन् ।
क्रिकेटमा लाग्दा उनले आफ्नो पढाइलाई भने माया मारेका छन् । ८ कक्षामा टुटेको पढाइलाई उनले फेरि जोडेका छैनन् । गुल्शनले नेपाली नागरिकता पनि बनाउन बाँकी छ । बुझिएअनुसार उनका बुवा भारतीय नागरिक हुन् भने आमा नेपाली हुन् ।