बैतडी- बैतडीमा पनि मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का लागि पूर्वतयारी सामग्री व्यवस्थापन भएको छ । विपद्का बेला आवश्यक खोज, उद्धार तथा पुनर्स्थापना र राहतका लागि आवश्यक पूर्वतयारी गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का लागि आवश्यक तयारी गरिएको जिल्ला प्रशासन कार्याललय बैतडीका सूचनाअधिकारी शंकर बहादुर बोहराले बताए ।
जिल्लाको डिलाशैनी, दोगडाकेदार,सुर्नया, सिगास, मेलौली, पाटन लगायतका क्षेत्रमा पहिरोको जोखिम छ भने महाकाली, सुर्नया, जमाडी, सेती र चमेलिया नदी किनारका बस्तीहरुमा बाढीको जोखिम रहेको छ ।उद्धार सामग्री सहित आवश्यक तयारि भएको उनले बताए । विपद्का घटना भइहालेमा उद्धारका लागि तालिमप्राप्त सुरक्षा टोली समेत तयारी अवस्थामा राखिएको उनले बताए ।
राजमार्गमा आउने पहिरोको लागि जेसीबी लगायतका मेसिनहरु पनि तयारि अवस्थामा रहेका बताइएको छ । यस्तै पालिकाहरुलाई पनि तयारि अवस्थामा बस्न आग्रह र निर्देश्न भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।उद्धार तथा राहत व्यवस्थापनका लागि काठमाडौं, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला गरी ११ ठाउँमा यो तयारी गरिएको गृह मन्त्रालयले पनि जनाएको हो ।
मानवीय सहायतास्थलबाट आवश्यक क्षेत्रमा राहत पुर्याइनेछ । विभिन्न ११ ठाउँमा पाँच हजारभन्दा धेरै टेन्ट, झण्डै १० हजार थान तारकुलिन (छाना), झण्डै ५ हजार थान ब्ल्याङ्केट र झुल तयारी अवस्थामा छ ।विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन सरकारले राष्ट्रिय प्रतिकार्य कार्यढाँचा २०७५ तयार गरी विभिन्न ११ वटा मन्त्रालय सहभागी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्ययोजना तयार गरेको थियो । बाढीपहिरोबाट राष्ट्रिय राजमार्ग अवरुद्ध भए तत्काल सञ्चालनका लागि सेनाले चार वटा बेलिब्रिज तयारी अवस्थामा राखेको छ ।
मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गरिएको र यसमा मुख्य भूमिका भने पालिकाको हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताए। यस वर्षको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ। साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ।